जनकपुर, बैशाख २२
धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको एमालेबाट अध्यक्ष पदको उम्मेदवार अजय यादवले वडा नम्बर १ राजदेवी मन्दिर टोलमा घरदैलो गरेका छन् । निर्वाचनको मिति नजिकिएसंगै यादवले घरदैलो तीव्र पारेका छन् ।
घरदैलोको क्रममा यादव बृद्ध बृद्धाको आशिर्वाद थाप्नुका साथै आफूभन्दा कान्छोको शुभेच्छा ग्रहण गरिरहेका हुन् ।
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ राजदेवी मन्दिर टोल पुगेका यादवले पालिका भित्रका समस्याहरुलाई क्रमबद्ध रुपमा समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू निर्वाचित भए अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन योजना बनाएर काम गर्ने बताए । उनले विद्यालयको सुधारसंगै विद्यालय बाहिर रहेका अति विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरणको निर्माण गर्ने बताए ।
उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’
उम्मेदवारी दिएका यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।