जनकपुर, बैशाख २२

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका बलराम महतोले किसानलाई रिझाउनका लागि कृषक आत्मनिर्भर योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले किसानलाई आत्मनिर्भर बनाउनका लागि मलखाद्यको सहज व्यवस्था, आवश्यकता कृषि सामग्रीहरुको उपलब्धता र आधुनिकिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालकाको मेयर पदका उम्मेदवार महतोले जनकपुरधाममा कृषिलाई आधुनिक प्रविधिसंग जोडेर कृृषकहरुलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २३ बिन्दही, वडा नम्बर ४ र ७ माछा बजार, वडा नम्बर २० देवपुरा रुपैठामा घरदैलोका लागि पुगेका महतोले जनकपुरधामको ग्रामीण वडाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने बताए ।

स्थानीय किसानले उत्पादन गरेको सामाग्रीको उचित मूल्य पाउन नसकेको समयमा महतोले कृषिलाई आधुनिक प्रविधिसंग जोडेर रोजगारी श्रृजना गर्ने बताए । उनले भने ‘किसानहरुले उत्पादन गरेको सामाग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण समयमा बजारसम्म पुग्न नसक्नु र विचौलियाहरुको आतंक हो ।’ आफू निर्वाचित भए किसानहरुको उत्पादन बजारसम्म पुर्याउने र बिचौलियाहरुको बिगबिगी अन्त्य गर्ने बताए ।

यसै क्रममा महतोले फलफूल व्यापारीहरु संग समेत भलाकुसारी गरेका छन् । फलफूल व्यपारीहरुलाई व्यापार गर्न नगर भित्र समस्या भईरहँदा महतोले यसको समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।