जनकपुर, बैशाख २२

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् ।

प्रचारप्रसारका क्रममा उम्मेदवारहरुले व्यापकरुपमा निर्वाचन आचारसंहीता उल्लंघन गरेपनि नियामक निकायले कारवाही गर्न नसकेको संचारकर्मीहरुले गुनासो गरेका छन् । पत्रकारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहीता पत्रकारको हकहीतमा नरहेको भन्दै आलोचना गरेका छन् ।

पत्रकारहरुले साना लगानीका मिडिया तथा अनलाइन मिडियाको हकमा आयोग तानाशाही देखिएको भन्दै अस्पष्ट आचारसंहीता जारी गरेर अप्रत्यक्षरुपमा अंकुश लगाउने कार्य गरेको भन्दै आलोचना गरेका छन् ।

बुधबार जनकपुरधाममा संवाद समूह मधेश प्रदेशको आयोजनामा भएको ‘निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रममा बोल्दै सहभागी पत्रकारहरुले सप्तरी देखि पर्सा जिल्लामा निर्वाचन आचार सहितको उल्लंघन भएपनि कारवाही प्रक्रिया नबढाएकाले उल्लंघन गर्ने राजनीतिक दलदेखि उम्मेदवारहरुले निर्वाचन आचारसंहीता विपरित कार्य गर्दा पनि मनोबल बढ्दै गएका छन् ।
सहभागी पत्रकारहरूले गाउँ वस्तिमा प्रचार सामाग्रीहरू जता ततै सार्वजनिक स्थलहरूमा टाँस्ने तथा झुण्ड्याउने काम गरेका गाउँ वस्तिहरू फोहर बनिरहेका भन्दै यसमा रोक लगाउन आवश्यक भएको बताए ।

वक्ताहरूले डिजे तथा हर्नको प्रयोग अत्यधिक मात्रामा भएकाले सर्वसाधारणमा मानसिक तनावको अवस्था आएकाले हर्नको प्रयोगमा नियन्त्रण गरेर निर्वाचन आचार सहिताको पालन गर्न लगाउन आवश्यक भएको बताए ।

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारहरू पनि आफै निर्वाचन आचार सहिताको पालना गरेर अरूलाई पालना गर्नका लागि दबाब दिन जरुरी रहेको बताए । उनले सामाजिक सञ्जालमा मिडिया काउन्सिलका सदस्य वन्दना झाले गरेको पोष्टको विषयमा काउन्सिलको बैठक बसेर कारबाही गर्ने बताए ।

त्यस्तै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सप्तरी देखि पर्सा जिल्लासम्म आचार सहितको उल्लङ्घनको घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गर्दै डी जे आतङ्क रोक्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरे ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासंघका सदस्य सदस्यता त्याग नगरेर उम्मेदवार बनेकाले उनीहरूको सदस्यता चाडै खारेज गर्नका लागि जिल्लाले निर्णय गरेर केन्द्रमा पठाउने बताइन् ।