जनकपुर, बैशाख २२
यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार लक्षित हिंसाका घटनाहरु घट्न थालेपछि स्थानीय प्रहरी प्रशासनमाथि गम्भिर चुनौति खडा भएको छ ।
धनुषाको कमला नगरपालिकामा गएराति उम्मेदवारमाथि सांघातिक आक्रमण भएपछि स्थानीय प्रहरीले शान्ति सुरक्षाको व्यवस्था कडा रहेको भन्दै आएपनि फितलो सावित भएको छ ।
कमला नगरपालिकाको वडा नम्बर १ स्थित मंगराहामा गएराति नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार सर्वदेव यादवको घरमा आक्रमणमा तोडफोड गर्दै उनको ७० वर्षिय बुवा चन्द्रनारायण यादवमाथि ज्यान मार्ने गरि धारिलो हतियारले शरीर भरि प्रहार गरेको छ भने अर्का वडा सदस्य हरेराम भण्डारी माथि पनि एक समूहले धारिलो हतियारले प्रहार गरेको छ ।
गएराति एकै गाउँमा फरक फरक स्थानमा उम्मेदवारलाई लक्षित गर्दै हत्या गर्ने योजना अनुरुप घटना घटेको छ ।
अहिले दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।
वडा अध्यक्षका उम्मेदवार सूर्यदेव यादव आफ्नो घरमा सुतिरहेको बेला बुधबार राति बाहिर सुतिरहेको अवस्थामा उनको बुवा चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो । सो समूहको आक्रमणबाट उनी गम्भिर घाइते भएका छन् । उनलाई २० भन्दा बढी टाँका लागेको छ । उनको टाउको, ढाड, खुट्टासहित शरीरको विभिन्न अंगमा चोटपटक लागेको छ ।
सूर्यदेवका भाई सुरेन्द्र यादवले दाई सूर्यदेवलाई मार्नका लागि ढोका फोर्ने प्रयास गरेको र घरपछाडी खाल्डो खनेर घर भित्र प्रवेश गर्न खोजेको समेत बताए । तर दाई सुतिरहेको घरको ढोका तोड्ने प्रयास गर्नेक्रममा आँगनमा सुतिरहेको काकाले थाहापाए लगत्तै गुहार लगाउँदा उनीमाथि नै १०÷१२ जनाको समूहमा रहेका आक्रमणकारीहरुले धारिलो हतियारले शरीर भरि प्रहार गरेको थियो ।
उम्मेदवार सर्वदेवमाथि आक्रमणको प्रयास विफल भएपछि उनका बुवामाथि नै आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै सोही वडामा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम भण्डारीमाथि पनि आक्रमण भएको छ ।
घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आक्रमण गरेको उनको दाई किशोरी मण्डलले बताए । घाइते भण्डारीको टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरिएको छ ।
गाउँकै स्थानीय व्यक्तिहरुको समूहले ज्यान मार्ने गरि रड, लाठी र खुकुरीले आक्रमण गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले शान्ति सुरक्षालाई गम्भिररुपमा लिएको बताउँदै जिल्लाभर नै उम्मेदवारहरुको सुरक्षामाथि थ्रेट देखिएकाले यसलाई गम्भिर रुपमा लिएको बताउँछन् ।
उनले कमल नगरपालिकामा भएको घटनालाई गम्भिररुपमा नियाल्दै यसको अनुसन्धान भइरहेको बताए ।
उनले आक्रमण गर्ने व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको बताए ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धनुषमा सैकडौँको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित नेपाली सेना समेत परिचालन भएको अवस्थामा यस्तो घटना दुःखद रहेको भन्दै शान्ति सुरक्षामाथि थप चुनौति बढेको छ । समयमै शान्ति सुरक्षालाई खलल पार्नेहरुमाथि कारवाही नथालिएमा थप घटना नहुने कुरा भन्न सकिँदैन ।