जनकपुर, बैशाख २३
जनकपुरधाम उपमहानगरपलिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार रहेका शिवशंकर साह हिराले जनकपुरधामको विकासका लागि हाम्रो विकल्प नरहेको बताएका छन् ।
उनले हामीले उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भएको बताउँदै उनले हाम्रो विकास र विभिन्न एजेण्डाहरुबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
उनले आफनो प्रतिद्वन्दीसंग कुनै पनि प्रकारले एजेण्डा नरहेको अवस्थामा आफ्नो स्वास्थ्य प्रति प्रश्न खडा गर्न थालेको आरोप लगाए । उनले आफुलाई केही समयअघि रातको समयमा अध्याँरोमा हिड्ने क्रममा खाल्डोमा खुट्टा पर्दा अचानक लडेर खुट्टा फ्याक्चर भएर स्टील लगाउनु परेको कारणले हिड्दा दुख्ने गरेको बताए ।
उनले त्यसकारणले आफु चुनावी अभियानमा गाडिको बढि प्रयोग बाध्यतावश गर्नुपरेको बताउँदै यसलाई चुनावी एजेण्डा बनाउनु विपक्षीहरुको हारको मानसिकताको उपजको संज्ञा दिए । मेयरका उम्मदेवार साहले भने, ‘जनकपुरको विकासको विषयमा जहिलेपनि वहस गर्न तयार रहेको छु ,विपक्षीहरुसंग जनकपुरको विकासको मोडेलमा जहिले नि वहस गर्न तयार रहेको छु ।’
उनले स्थानिय तह सबै भन्दा नजिकको सरकार भएको कारणले यसले जनतालाई विकास र सुशासन दिनुपर्ने आवश्यकता रहेको औल्याए । उनले आफुले विभिन्न समाजिक संस्थामा हुदा समेत जनकपुरको विकासको लागि सदैव तत्पर रहेको बताए । साहले जनताको अधिकारको आन्दोलन देखि विकासको आन्दोलनमा समेत क्रियाशिल रहेको बताउदै जनकपुरको विकासको लागि आफुले देखाएको अग्रसरता कसैबाट लुकेको नरहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको लादोबेलामा घर दैलो अभियानमा सहभागि रहेकी उपमेयर पदकी उम्मेदवार रुना झाले जनकपुरधामको विकासको आधार आफुसंग रहेको बताउँदै विकास विना समृद्धि आउन नसक्ने भन्दै समृद्ध नेपाल र सुखी नेपाली आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको बताइन् ।
उनले विगतका मेयरले जनकपुरको विकास भन्दा पनि आफु खल्ती कसरी भर्ने त्यस तर्फ लागेको कारण जनकपुरको विकास नभएको बताइन् ।
घर दैलो कार्यक्रममा उपमेयर पदकी उम्मेदवार रुना झासहित वडाका वडा अध्यक्षका उम्मेदवारलगायतकाहरुको समेत सहभागिता रहेको थियो ।