जनकपुर, बैशाख २३
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले आफ्ना एजेण्डाहरुसहित घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवारी दिएका मनोज चौधरीले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले २९ बुँदे संकल्प पत्रमा फोहर व्यवस्थापन देखि सुकुम्वासी तथा भूमिहीनका लागि उपमहानगरभित्र आवासको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
मेयर पदका अकांक्षी उम्मेदवार चौधरीले नीतिगत तथा संस्थागत भ्रष्टाचार मुक्त जनकपुरधाम निर्माण, ऐतिहासिक, धार्मिक, सांस्कृतिक जनकपुरधामको संरक्षण सम्बद्र्धनको रुपमा विकास गर्न तथा आधुनिक जनकपुरधाम निर्माण शिक्षा तथा स्वास्थ्य क्षेत्रको मुख्य केन्द्रको रुपमा विकास गर्नका लागि व्यवसायिक ‘हव’ को रुपमा विकास गर्नलाई उम्मेदवारी दिएको बताए ।
उनले बाह्य रिंगरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक जनकपुरधामको निर्माण गर्ने, ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरी जनकपुरधाम क्षेत्रभित्र रहेको फोहरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहरबाट मोहर बनाउने, सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे ।
उनले सार्वजनिक गरेको संकल्प पत्रमा महिला तथा युवाहरुलाई शीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गने, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवसायिकरण गरि किसान तथा कृषकहरुलाई आय आर्जन गर्ने किसिमको कृषि व्यवसायी, कुखुरा पालन, माछापालन, दुग्ध व्यवसाय, पुष्प खेती, तरकारी बाली उत्पादन लगायका कामको व्यवस्था गर्ने उपमहानगर भित्र रहेका सुकुम्वासी तथा भूमिहीनहरुका लागि उपमहानगर भित्र आवासको योजना ल्याउने तथा लालपुर्जाको व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गर्ने संकल्प पत्रमा उल्लेख गरेका छन् ।
जनकपुरधाम स्थित माँ जानकी यातायात प्रा.लि.का अध्यक्ष समेत रहेका नेता चौधरीले जनकपुरधामको पर्यटन क्षेत्रलाई बढावा दिन रेल्वे स्टेशन, विमानस्थल र बस पार्कदेखि जानकी मन्दिरसम्म तीनवटा बस सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको स्पष्ट पारे ।
उनले आफ्नो संकल्प पत्रमा अन्तर्राष्ट्रियस्तरको खेलकूद स्टेडियम निर्माणका लागि पहल गर्ने, प्रदेश र संघीय सरकारसँग सहकार्य गरी पिडारी चौक स्थित बागवानी केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बोटानिकल गार्डेन तथा एग्रीकल्चर रिसर्च सेन्टर निर्माण गर्ने तथा भ्यूटावरको निर्माण गरी स्ट्रोनोमिकल रिसर्च सेन्टर तथा मेट्रोलोजिकल रिचर्स सेन्टर निर्माण गरिने जनाइएको छ ।