जनकपुर, बैशाख २३
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले घरदैलोलाई तिव्रता दिएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा उनले चुनावी प्रचार अभियानलाई तिव्रता दिँदै एक दिनमै सात स्थानमा चुनावी कार्यक्रमसहित स्थानीवासीसँग भलाकुसारी गर्न समेत भ्याँएका छन् ।
मेयर पदका महतोले जनकपुरधाम वडा नम्बर ३ स्थित देवान पोखरी, वडा नम्बर ५ जानकी मन्दिर पछाडी, वडा नम्बर ७ वशिष्ठ चोक, वडा नम्बर १० देवी चोक, वडा नम्बर १३ रतन चोक, वडा नम्बर २१ कुर्था र वडा नम्बर २२ बसविट्टीमा घरदैलो अभियान गरेका छन् ।
घरदैलोको क्रममा आफूले उम्मेदवारी किन दिएको र आफ्नो एजेण्डा मतदाताहरुलाई सुनाउनुका साथै मतदाताहरुको समस्या समेत सुनेका थिए । घरदैलोको क्रममा मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।
घरदैलोकै क्रममा उनले युवाहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । युवाहरु कुलतमा फसिरहेको समयमा खेलकुदप्रतिको वातावरण राम्रो बनाउन र खेलकुद क्षेत्रको विकासका लागि आफूले काम गर्ने बताए ।
त्यस्तै जनकपुरधाममै रहेको रामजानकी रंगशाला लथालिंग अवस्थामा रहेको समयमा उनले सो रंगशाला निर्माणका लागि ठोस पहलकदमी लिने समेत प्रतिवद्धता व्यक्त गरे ।
खेलकुदका साथै आफूले शिक्षा, स्वास्थ्य तथा कृषि लगायतको क्षेत्रमा विज्ञहरुको सल्लाह अनुसार काम गर्ने उनले बताए ।