जनकपुर, बैशाख २३

धनुषामा एक वडा अध्यक्षका उम्मेदवारलाई लक्षित गर्दै स्थानीय उच्छृंखल तत्वहरुको एक समूहले पराजित मानसिकताबाट ग्रस्त भई निर्मम कुटपीट गरेको प्रति नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष देवेन्द्र कुमार यादव दिपकले घोरभत्र्सना गरेका छन् ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका उम्मेदवार रहेका सर्वदेव यादवको घरमै गएर स्थानीयहरुको एक हुलले उनको घरको ढोका फोड्ने देखि घरपछाडी तर्फबाट माटो खनेर घर भित्र प्रवेश गरेर ज्यान मार्ने योजनासहित आएका सो समूहले उनको बुवालाई निर्ममढंगले कुटपीट गरेको भन्दै जिल्ला अध्यक्ष दिपकले घटनाको निन्दा समेत गरेका छन् ।

अध्यक्ष यादवले घटना घटेको एक दिन वित्दा पनि अहिलेसम्म स्थानीय प्रहरी प्रशासनले घटनामा संग्लन रहेकाहरुलाई पक्राउ गरि कानूनी कारवाही प्रक्रिया समेत अघि नबढाउनु विडम्बना रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनले आततायीहरुको एक समूहले बुधबारको मध्यरातमा हत्या गर्ने योजना अनुसार उम्मेदवारको घरमै पसेर हत्या गर्न प्रयास विफल भएपछि उनका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई आँगनमै सुतिरहेको बेलामा उनको टाउको, ढाडसहित शरीर भरि नै मर्नासन्न हुने गरि खुकुरी, चक्कु र रडले जथाभावी प्रहार गरि गम्भिर घाइते बनाएको थियो ।

संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

उनले सर्वदेवको पक्षमा व्यापक जनसमर्थन बढिरहेको देख्न नसकेपछि राजनीतिक प्रतिशोध साँध्नकै लागि उनीमाथि हत्याको योजना बुनेर धारिलो हतियारले आक्रमण गरेको बताए ।

घटना घटेको एक दिन वित्दा पनि स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न रहेकाहरुलाई अहिलेसम्म पनि कानूनी कारवाही गर्न नसक्नु दुःखद रहेको उनको भनाई छ ।

उनले गाउँ समाजमा उम्मेदवार नै असुरक्षित रहेपछि सर्वसाधारणलाई शान्ति सुरक्षाको व्यवस्था प्रत्याभुति गराउन प्रहरी प्रशासन पूर्णरुपेण असफल भएको समेत आरोप लगाए ।

बुधबार राति माओवादीका उम्मेदवार यादव र सोही वडाका वडा सदस्य पदका उम्मेदवार रहेका हरेराम भण्डारीलाई समेत कुटपीट गरि हत्याको प्रयास गरेको थियो । उनको समेत जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।