जनकपुर, बैशाख २३

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परित्याग गरि अन्य पार्टीमा प्रवेश गर्ने क्रम अहिलेपनि जारी नै रहेको छ ।

धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरि दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनको एक साता मात्र बाँकी रहँदा एमालेमा असन्तुुष्ट रहेका नेता तथा कार्यकर्ताहरु शुक्रवार कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेबाट हरिनारायण महतोलाई मिथिला नगरपालिकाको मेयरको टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए ।

एमालेको मिथिला नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्र महतो कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु मुजिम राइन, लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्रुधन महतोले पार्टी छाड्दै कांग्रेसमा प्रवेश गरेका छुन् ।

केही दिन अघि एमालेमा टिकट वितरणमा नेतृत्वपंक्तिले आफुखुसी वितरण गरेको भन्दै असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले एमालेका सचिव रघुविर महासेठलाई दुव्र्यवहार समेत गरेका थिए ।