जनकपुर, बैशाख २४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्ने बताएका छन् ।

शनिवार जनकपुरधाममा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफुहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गर्दापनि नेकपा एमालेको कारण समस्या समाधान हुन नसकेको बताए ।

उनले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए । उनले अब एमालेले सदनमा अवरोध गरेपनि त्यसका बाबजुद नागरिकताको समस्या समाधान गर्ने दावी गरे ।

उनले केपी ओलीले संसद विघटन गरेपछि बनेको गठबन्धनमा कडा मिहिनेत पछि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाउन सफल भएको समेत बताए । उनले गठबन्धन आगामी दिनसम्म समेत कायम रहने बताए ।

त्यस्तै गठबन्धनको बिरुद्धमा कांग्रेस भित्रै आवाज उठिरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।

गठबन्धनको बिरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिएकाहरुकालागि पार्टीमा कुनै स्थान नभएको भन्दै देउवाले लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन बिरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य नभएको बताए ।
देशभित्र रहेका नगारिकता लगायतका समस्या समाधान गर्न तथा संघियतालाई संस्थागत गर्नका लागि गठबन्धनको आवश्यक्ता रहेको उनले दावी गरे ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्दै अध्यक्ष यादवले विगत भन्दा जनकपुरधाम सप्रेको बताए ।
उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल समेत गरे ।

त्यस्तै काँग्रेसका नेता रामचन्द्र पौडेलले जनकपुरधाममा स्वतन्त्र उम्मेदवार भारी रहेकाले गठबन्धनका नेताहरुले सचेत भएर चुनावी प्रचारप्रसारलाई तिव्रता दिनुपर्ने बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि समेत कार्यकर्तामा अपिल गरे ।