
जनकपुर, बैशाख २४
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकामै रोजगार सिर्जनाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार उपाध्यक्ष पदकी उम्मेदवार भोली यादवसँगै घरदैलोमा पुगेका अजयले गाउँपालिकामै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गर्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
यादवले आफू जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने दाबी गरे ।
उनले विद्यालयको सुधारसँगै विद्यालय बाहिर रहेका अति विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरणको निर्माण गरिने जनाएका छन् ।