जनकपुर, बैशाख २४
यही बैशाख २४ गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार रहेका बलराम महतोले स्थानीयहरुको समस्या सुन्दै समाधानका उपायहरुको बारेमा समेत छलफल गरेका छन् ।
शनिबार जनकपुरधाम नगरभित्रका ९ वटा वडामा घरदैलो अभियानको क्रममा उम्मेदवार महतोले स्थानीयवासीसँग छलफल गर्दै जनकपुरधामको ठुला देखि साना समस्या तथा गुनासाहरु समाधानका लागि आफु मात्रै उपयूक्त र अक्षम रहेको दावी गर्दै मतदान गर्न अपिल गरेका छन् ।
उनले आफु निर्वाचित भएमा नगरमा समस्याको झन्झट नरहने भन्दै उनले आफ्नो एजेण्डाहरु सुनाउँदै नगरमा सबै जना भाईचाराको रुपमा मैत्रीपूर्ण समाजको परिकल्पना रहेको बताए ।
चुनावी प्रचार अभियानको अब ६ दिन मात्रै बाँकी रहेको समयमा महतोले शनिबार जनकपुरधामको वडा नम्बर–४ र १२ कटैया चौरी, वडा नम्बर–१० र ११ कन्या स्कुल, वडा नम्बर–२५ लोहना, वडा नम्बर–१७ कटरैत, ओसर र कनकपट्टी, वडा नम्बर १९ स्थित शिहपुर टोल, वडा नम्बर–१८ महुवा, वडा नम्बर–१६ कपिलेश्वर टोल र वडा नम्बर २१ स्थित कुर्थामा घरदैलो गरेका हुन् ।
उपमेयर पदका उम्मेदवार निर्मल चौधरीसँगै घरदैलोमा पुगेका महतोले जनकपुरधामको ग्रामीण वडाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने बताएका छन् ।
स्थानीय किसानले उत्पादन गरेको सामग्रीको उचित मूल्य पाउन नसकेको समयमा महतोले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्ने बताए ।
उनले भने, ‘किसानहरुले उत्पादन गरेको सामाग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण समयमा बजारसम्म पुग्न नसक्नु र विचौलियाहरुको आतंक हो ।’
आफू निर्वाचित भए किसानहरुको उत्पादन बजारसम्म पुर्याउने र बिचौलियाहरुको बिगबिगी अन्त्य गर्ने उनले बताए ।