जनकपुर, बैशाख २५

धनुषाको मिथिला बिहारी नगरपालिकामा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेका छन् ।

मिथिला बिहारीको नगरपालिकाको नगरप्रमुखको उम्मेदवार राजेन्द्रप्रसाद यादव र नगर उपप्रमुखको उम्मेदवार अनिता कुमारीको नेतृत्वमा कांग्रेसले शक्ति प्रदर्शन गरेका हुन् ।

आइतबार नगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षको उम्मेदवार ललित झा सहित ठेरामा कांग्रेसी कार्यकर्ताहरु शक्ति प्रदर्शन गरेका थिए । यादवले आफू निर्वाचित भए नगरको शहरीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘सहरीकरणको बारेमा लिएको राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम र प्रतिष्ठित व्यक्तित्वहरुसँग गरेको कामको अनुभवले पनि नगरको विकास गर्न सहयोग पु¥याउने छ ।’ मतदातालाई भोट बैंकुको रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए । तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन् । आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए । यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं, उनले भने ।

उनले अघि थप्दैँ भने, ‘नगरपालिका कस्तो प्रणालीले चल्छ, कस्तो मेकानिजम हुनुपर्छ भन्ने थाहा छ’, यादवले भने, ‘आफ्नो अनभुवलाई गाउँ र नगरको विकासमा खर्चिन पाए हुन्थ्यो भन्ने सोचले पनि म मिथिला नगरपालिकाको मेयरमा उम्मेदबारी दिएको हुँ । घरदैलोको क्रममा जनताले झन उत्साह थपेको छ । जनताको अपेक्षालाई आत्मसाथ गरी काम गर्छु । मेरो लागि जनता नै ठूलो हो ।’

पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतना स्तरमा वृद्धि भएको छ । जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्ने कुरा छुट्याउन सक्छन् ।

मिथिला बिहारी नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, यादव भन्छन्, म आफ्नो अनुभव नगरको विकासमा लगाउने छु ।

मिथिला बिहारी नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा निर्भर छन् ।

किसानलाई सिँचाई, मल तथा बिउबिजनको अभाव हुन नदिने गरी काम गर्ने, स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्ने उनको प्रतिबद्धता छ । उनले मिथिला बिहारीका जनताले आफूलाई विश्वास गर्ने दावी समेत गरे ।