जनकपुर, बैशाख २५
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले आइतबार ८ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।
चुनावी प्रचार अभियानको अब केही दिन मात्रै बाँकी रहेको समयमा महतोले जनकपुरधामको वडा नम्बर ८ को बजरंग चोक, वडा नम्बर २४ बसहिया तथा सोनापाड़ा, वडा नम्बर १८ भोइल, वडा नम्बर ३, वडा नम्बर ११, वडा नम्बर १, वडा नम्बर १६ र वडा नम्बर १५स्थित रामपुरमा बलरामले घरदैलो गरेका हुन् ।
उनले सो अभियानको क्रममा जनकपुरधामको समग्र समृद्ध विकासका लागि आफु लागि परेकाले जनकपुरधामको विकास गरेरै देखाउने बताए ।
उनले घरदैलोको क्रममा आफूले उम्मेदवारी किन दिएको र आफ्नो एजेण्डा मतदाताहरुलाई सुनाउनुका साथै मतदाताहरुको समस्या समेत सुनेका थिए । घरदैलोको क्रममा मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु व्यक्त गरे ।
यसका साथै उनले जनकपुरधामको नगरप्रमुखको हैसियत कुशल नेतृत्व गर्ने दावी गरेका छन् । घरदैलोको क्रममा आफूले नगरवासीको पीडा राम्ररी बुझेकाले राजनीतिज्ञभन्दा राम्रो नेतृत्व उपमहानगरलाई आफूले दिन सक्ने उनले दावी गरे ।
उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको उनले बताए । उनले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो । उनले भने ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ ।
जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’ उनले अहिले जनकपुरधाम उपमहानगरको व्यवस्थाकीय निकै कमजोर रहेका कारण सडक तथा ढलको दुरावस्था स्पष्ट पारे ।