काठमाण्डौं, बैशाख २६
आचरण विपरीत काम गरेको भन्दै ४८ जना बर्खास्त
स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् ।
ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
निर्वाचनमा खटिएको बेला नै प्रहरी बरिष्ठ हबल्दार भोजराज पराजुलीको पनि दुर्घटनामा परेर मृत्यु भएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।
यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८÷८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो ।