जनकपुर बैशाख २६
स्थानीय तहको निर्वाचनको मुखमै गठबन्धनको तर्फबाट जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)को नगरप्रमुखका उम्मेदवार लालकिशोर साहले गरेको भ्रष्टाचारको फेहरिस्त फेरी उदांगो भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेका उम्मेदवार लालकिशोर साह चुनावी प्रचारको क्रममा आफ्नो कार्यकालको उपलब्धिको रुपमा शहीद गेटलाई गनाउने गर्छन् । तर शहीद गेटको नाममा समेत भएको भ्रष्टाचार चुनावको मुखमै उदांगो भएपछि जनकपुरधामवासी चर्को आलोचना गरिरहेका छन् ।
शहीद गेटको उदघाटन केही महिना पूर्व बडो तामझामका साथ उदघाटन गरिएको थियो । शहीद गेटमा शहीदहरुको प्रतिमा राख्नुका साथै त्यसमाथी भगववान रामको प्रतिमा राखिएको थियो । उदघाटन भएको दिन भगवान रामको प्रतिमा पित्तलको रहेको जस्तो लागि रहेको थियो । तर अब सोही मूर्ती पूर्ण रुपमा कालो भएपछि शहीद गेट निर्माणमा अनियमितता भएको स्पष्ट देखिन्छ जनकपुरधाम ४का एक स्थानीयले बताए ।
साढे ४ करोडको लगानीमा निर्माण भएको शहीद गेटको टेण्डर प्रकृयामै अनियमितता भएको महालेखा परिक्षको कार्यालयको प्रतिवेलदनले देखाएको थियो । जसको पुष्टी भगवान रामको प्रतिमाले गरिरहेको ती स्थानीयले बताए ।
२०७७ असार २१ गते शिलान्यास गरिएको सहिदद्वार निर्माणको कार्य १ वर्ष ९ महिना नबित्दै पूरा गरिएको छ । डेढ वर्षभित्रै काम सक्ने गरी काठमाडौंको गौरीपार्वती निर्माण कम्पनीलाई सो सहिदद्वार निर्माणको ठेक्का दिइएको थियो ।
३१ फिट अग्लो सो सहिदद्वारको माथिल्लो भागमा धनुष तानेको भगवान रामको प्रतिमा स्थापित गरिएको छ । मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका धनुषाका तीन सहिदहरूको स्मृतिमा निर्माण गरिएको सो प्रवेशद्वारमा सहिदहरु नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको प्रतिमा समेत राखिएको छ । सहिददद्वारको पूर्वपट्टि सडकछेउमै तीनैजना सहिदहरुको अन्त्येष्टि गरिएको स्थल पनि रहेको छ ।
मधेश आन्दोलनकै बलमा जनताको विश्वास कमाउन सफल भएका नगरप्रमुख साहले मधेश आन्दोलनकै सहिदहरुको नाममा निर्माण गरिएको सहिद गेटको नाममा अनियमितता गरेको आरोप लाग्दै आईरहेको छ । केही महिना अगाडी मात्रै महालेखा परीक्षकको प्रतिवेदनले समेत जनकपुरधाम उपमहानगरपालिकाको सहिद गेट निर्माणको टेण्डर प्रकृयामै अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
सहिदद्वारा निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक ३० दिने सूचना सहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिको प्रस्ताव मात्रै परेको थियो । यद्यपि अनुभव सम्बन्धि कागजात नक्कली सावित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना फेरि आह्वान गरियो, जसमा गौरी पार्वती जेभीको प्रस्ताव परेको थियो । ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत मात्रै घटीमा अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख थियो ।
२०७७ साल असार २१ गते शिलान्यास गरिएको सो सहिदद्वारा निर्माणमा आर्थिक वर्ष २०७६–०७७मा ४४ लाख ७७ हजार ७ सय २, आर्थिक वर्ष २०७७–०७८मा २ करोड बजेट छुट्याइएको थियो भने बाँकी रकम चालु आर्थिक वर्षमा छुट्याइएको थियो ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७८’ जारी गरेपनि यसको पालना भने कुनैपनि उम्मेदवारले गरिरहेका छैनन् ।
यस अघि शनिबार पाँच दलीय सत्तारुढ गठबन्धनको तर्फबाट जनकपुधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार लालकिशोर साहले उम्मेदवारी दर्ता गरेकै दिनदेखि विदेशी नम्बर प्लेटको चारपाङ्ग्रे सवारी साधनको प्रयोग गरिरहेका छन् ।
निवर्तमान नगरप्रमुख समेत रहेका साहले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै भारतीय नम्बर प्लेटको सवारी साधन निर्वाध रुपले प्रयोग गरिरहेको देखिएको ।
शनिबार पाँच दलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी हुनु अघि उनी नगरभित्र रोड शो गरेका थिए । रोड शोमा नगरप्रमुख पदका उम्मेदवार साहले भारतको उत्तर प्रदेश राज्यको यूपी १४ इएक्स ७०३२ नम्बरको गाडीमा हात हल्लाउँदै नगरबासीलाई अभिनन्दन गरेको देखिएको थियो ।