जनकपुर, बैशाख २६
यही ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा लागेका नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरको मेयर, उपमेयरसहितका पदमा उम्मेदवारी दिएका नेता शिवशंकर साह हिरा र नेतृ रुना झाले आजपनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
मेयर पदका उम्मेवार हिरा र उपमेयर पदकी उम्मेदवार रुना झाले सोमबार जनकपुरधाम उपमहानगर वडा नम्बर ५, ६ र ८ मा घरदैलो अभियान अन्तर्गतको कार्यक्रम गरेका हुन् ।
सो घरदैलो कार्यक्रममा हिराले जनकपुरधामलाई महानगरपालिका बनाउनका लागि आवश्यक पूर्वाधार तयारीसहित स्थानीयवासीलाई समृद्ध बनाउनका रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास निर्माणको कार्यलाई अगाडी बढाउने बताएका छन् ।
उनले जनकपुरधाम मधेश प्रदेशको राजधानी रहेकाले यसको पूर्वाधार संरचना निर्माण विकास र जनकपुरधामको विस्तार समेत त्यतिकै अपरिहार्य रहेको स्पष्ट पारे ।
उनले अहिलेपनि जनकपुरधाम उपमहानगर भइसकेपनि आवश्यक पूर्वाकारको विकास तथा विस्तार गर्न नसकेकाले आफुलाई जिताउन अपिल समेत गरे ।
उनले जनकपुरधामा उपमहानगरपालिका भित्र व्यापकरुपमा अनियमितता भएकाले यसको छानविन समेत गर्नु हाम्रो दायित्व रहेकाले सुन्य सहनशिलता अपनाइ कानूनी प्रक्रिया अघि बढाउने बताए । उनले जनकपुरधाम नगरलाई भ्रष्टाचार मुक्त कानूनी सुशासन कायम गर्नका लागि समेत आफुले उम्मेदवारी दिएको दावी गरे ।
त्यस्तै उपमेयर पदमा निर्वाचित भएमा उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालना तथा कार्यान्वय गर्ने रुना झाले बताइन् ।
उनले जनकपुरधाम नगरवासीलाई सूचनाको अधिकारलाई व्यवहारिकरुपमा कार्यान्वयनसँगै पारदर्शीतालाई प्राथमिकता दिइने स्पष्ट पारिन् ।
उनले धार्मिक पर्यटनीय नगरीको रुपमा जनकपुरधामलाई समृद्धसहितको विकास गर्ने बताइन् ।