बलराम, हिरा र मनोज दौडमा

जनकपुर, बैशाख २६

यही बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । अब निर्वाचनको चार दिन मात्र बाँकी । चुनावी प्रचार प्रसार पनि अन्तिम चरणमा पुगेको छ । चुनावी प्रचार प्रसार समाप्ति चरणमा रहेको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामै केन्द्रित छन् ।

निकै तानावाना र भव्य प्रचारप्रसार वीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि को उपयूक्त हुन् भने जनता जनार्धनले ३० गते मतदान गरि आफ्नो जनप्रतिनिधि छनोट गर्लान् । तर अहिले भने जनकपुरधाम उपमहानगरको मेयर पदका लागि त्रीपक्षिय प्रतिस्पर्धा हुने सम्भावना रहेको अड्कलवाजी हुन थालेको छ । तथापि जनता भने खुलिसकेको अवस्था भने छैन ।

जनकपुरधाम उपमहानगरको इतिहासले स्वतन्त्र वा बागी उम्मेदवारलाई जनताले चुनेको स्पष्ट छ । स्वतन्त्र उम्मेदवारले नै जननिर्वाचित भएको इतिहास छ । यस्तो अवस्थामा फेरी पनि जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको पलड़ा भारी हुने देखिएको छ । स्वतन्त्र उम्मेदवार बलराम महतो, नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) र स्वतन्त्र उम्मेदवार मनोज साह बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

समाजसेवामा राम्रै छवि बनाएका बलराम महतो एकाएक राजनितिमा आएपछि र उनको भौतिक पूर्वाधारको कार्यक्षमतालाई लिएर जनकपुरधामवासीमा उनी प्रति आशाको किरण पलाएको छ । उनको घरदैलो कार्यक्रम देखि शक्ति प्रदर्शमा समेत आम नागरिकको व्यापक सहभागिता र क्रेजले यसको सहजै अनुमान लगाउन सकिन्छ एक स्थानीयले बताए ।

महतो लामो समय देखि भौतिक पूर्वाधारको क्षेत्रमा धरहरा जस्तो गौरवको पूर्वाधार निर्माणपछि देशभरी उनलाई चिनाएको थियो ।

नकपुरधामको धार्मिक, प्राकृतिक तथा सांस्कृति सम्पदाको महत्व जोगाउन अग्रणी भुमिका निर्वाह गरेका महतोलाई जनकपुरधामवासीले यस पटक निर्वाचनमा मत दिएर जिताउने सम्भावना प्रबल रहेको एक स्थानीयले बताए । उनले भने, ‘बलराम महतो राजनीति भन्दा पृथक मानिस हुनुहुन्छ, उहाँमा जनकपुर बनाउने दृढ संकल्प देखे त्यही भएर उहाँको समर्थनमा आएँ । सबैले मेरो पार्टी यस्तो, मेरो पार्टी उस्तो भनेर, जनकपुरधामलाई यो गरि दिन्छु, त्यो गरिदिन्छु भनेर भन्छन् तर पाँच वर्षको अवधिमा कसले के ग¥यो भनेर हेरिसके अब पालो स्वतन्त्र उम्मेदवारको हो ।

महतोका साथै एमालेका उम्मेदवार शिवशंकर साह हिराको जीत्ने सम्भावनालाई समेत नकार्न सकिदैन । जनकपुर उद्योग वाणिज्य संघ, मधेश प्रदेश वाणिज्य महासंघमा आफ्नो कुशल नेतृत्व देखाई सकेका हिरासंग जनकपुरधामको व्यापारीहरुका साथै उनको व्यक्तिगत छविका कारण जनकपुरधामको स्थानीयमा समेत उनको छवि राम्रै छ । त्यसमाथी एमालेको पार्टीगत मत हिराबाहेक कही पनि जान नसक्ने आकलन गरिएको छ ।

पाँच दलीय गठबन्धन भित्र पनि कांग्रेसी मत गठबन्धनका उम्मेदवारलाई नपर्ने भएकाले सो मत स्वतन्त्र उम्मेदवार मनोजकुमार साहका साथै अन्य उम्मेदवारलाई पर्ने भएकाले उनी पनि प्रतिस्पर्धामा छन् । यस्तो स्थितिमा गठबन्धनको उम्मेदवारभन्दा दुई जना स्वतन्त्र उम्मेदवार र एक जना एमालेको उम्मेदवार मध्ये कुनै एक उम्मेदवारले बाजी मार्न सक्ने सम्भावना छ ।

उसो त काँग्रेसीजनले भने गाछी बाहेक चिन्हमा मतदान गर्दा मरे तुल्य छातीमा छुरा प्रहार भए झैँ हुने भएकाले अन्यत्र मतदान नगर्ने काँग्रेस नेताहरुको भनाई छ । तर काँग्रेसले गठबन्धनको उम्मेदवारलाई भने फिटिक्कै पनि मन पराएको छैन । त्यसैले गर्दा काँग्रेसको मत मेयर उपमेयर पदमा समेत विभाजन हुने सम्भावना प्रबल रहेको देखिन्छ ।

यता जानकीराम साह एमालेको बागी उम्मेदवारकै रुपमा छन् । उनको पृष्ठभुमि काँग्रेस, मधेशवादी दल हुँदै एमालेसम्मको छ । जसले गर्दा सबै दलको मत काट्ने उनको दावी छ । तर उनी तर्फ अहिलेसम्म पनि स्पष्टरुपमा जनता खुलिसकेको अवस्था भने छैन ।

तर मेयर पदमा बलराम, हिरा र मनोजको पक्षमा व्यापक जनसमर्थन देखिएकाले यही तीन जना वीच कडा प्रतिस्पर्धा हुने जनकपुरधाम वडा नम्बर ४ बस्ने सुजित पाठकको भनाई छ ।