जनकपुर, बैशाख २६
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताले नागरिकता विधेयक पारित गरि नागरिकता वितरण सहज बनाउने सम्बन्धी दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।
सोमबार जनकपुरधाममा लोसपा नेपालद्वारा जनकपुरधाममा आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ठाकुरले नगदमा नागरिकताको समस्या समाधान गर्न भन्दा सम्झौता गर्नका लागि तयार भएपनि कार्यान्वयन नगरि आश्वासन मात्रै बाड्दै हिडेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
अध्यक्ष ठाकुरले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुने ।
हामीले उनीहरुलाई नै भनेको थिए । उनीहरुले लिखित रुपमा सम्झौता गर्न भनेका थिए तर हामीले भन्यौँ, हैन् तपाईहरु अहिले सरकारमा हुनुहुन्छ । नगदमै समस्या समाधान गर्नुस् । आज तपाई सरकारमा हुनुहुन्छ लिखितमा सम्झौता गर्नुहुन्छ भोली सत्ता परिवर्तन हुन् सक्छ । यहाँ अस्थिर राजनीति हो ।’
उनले नागरिकताको अभावमा डाक्टर, इन्जिनियर गरेकाहरुपनि बेरोजगार भएर बाध्यतावश बस्नु परेको बताए ।
अध्यक्ष ठाकुरले मधेश आन्दोलनका मुद्दाहरु पूरा नभएकाले अहिलेपनि आफुहरु संघर्षमै रहेको बताए । उनले भने, ‘यिनीहरु धेरै कुरा गर्छन तर केही गर्दैनन् । तिनीहरुले गोली चलाउँदा हजारौजना मारिए । हामी शान्तिपूर्ण आन्दोलन गर्यौ । तर तिनीहरु प्रधानमन्त्री बने र हाम्रै मान्छे अहिलेपनि थुनामा छन् । मुद्दा खेपिरहेका छन्, यो विभेदपूर्ण नीति हो ।’
अध्यक्ष ठाकुरले यिनीहरुसँग पहिला पनि सम्झौता भएको तर पुरा नभएको भन्दै भने, ‘उहाँहरुसँग पहिला पनि सम्झौता भएको थियो जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो तर केही भएन । केपी ओलीजी सँग हाम्रो सम्झौता भएको थिएन । उहाँले सम्झौता गर्नका लागि भन्नुभयो, तर हामीले गरेनौ । भन्यौ बरु गरेर देखाउनुस् र उनले मुद्दा फिर्ता पनि लिए । नागरिकताको समस्या समाधान गर्नका लागि अध्यादेशपनि ल्याए तर सर्वोच्चले त्यसलाई पनि रोक्यो ।’
त्यस्तै लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
उनले कांग्रेस, माओवादीलगायतका दललाई जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि अपवित्र गठबन्धन गरेको बताए ।
उनले पाँच दलीय गठबन्धन तर्फ इंगित गर्दै भने, ‘यिनीहरु अपवित्र काम गरे, गठबन्धन पनि अपवित्र बनायो, कांग्रेस, माओवादीसँँग जनतासमक्ष एक्लै जाने हिम्मत गरेनन् । अनि भन्छन्– बहादुर छु ।’
वरिष्ठ नेता महतोले जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह तर्फ इंगित गर्दै उनले यसअघि आफ्नो पार्टीबाट निर्वाचित भएको पात्र कुपात्र भएपछि गाली गर्दा सुध्रिनुको साटो घर नै छाडेर भागे ।
वरिष्ठ नेता महतोले भने, ‘यसअघिको निर्वाचनमा जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधि आफुलाई राजा नै बुझे । जनताले धेरै विश्वास गरेर मत दिएका थिए, अनि निर्वाचित भएर कुर्सीमा गएपछि उल्टो काम गर्न थाले। मैले किन उल्टो काम गरिरहेको छौ भन्दा पार्टी नै छाडेर भागे ।’