काठमाण्डौ, बैशाख २७

 वैशाख ३० गते हुने पालिका चुनावमा झन्डै आधा मतदाता मताधिकारबाट वञ्चित हुने भएका छन् ।

अनुमानित तथ्याङ्कलाई आधार मान्दा कुल जनसङ्ख्या (दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जना) को २० प्रतिशतभन्दा बढी अर्थात् लगभग ६० लाख मतदाता विदेशमा छन् ।

त्यस्तै मतदानको काममा खटिने कर्मचारीहरू, दुई लाख ६० हजार सुरक्षाकर्मी र तीन लाख कर्मचारी गरी पाँच लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् । झन्डै ६५ लाख मतदातालाई मताधिकारबाट वञ्चित गराइ भइरहेको पालिका चुनावमा झन्डै आधा मतदाता अनुपस्थित हुने निश्चित छ ।

संविधान सभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सर्वोच्च अदालतको आदेशका बाबजुद सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न नसकेको बताउनुभयो । उहाँले पालिका चुनावमा आफ्नो मताधिकार प्रयोग गर्नबाट झन्डै ६५ लाख मतदाता वञ्चित हुनु लोकतन्त्रका लागि राम्रो नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई सय चार वटा देशमध्ये एक सय ३७ वटा देशमा बाहिरबाट पनि मतदान गर्न पाइन्छ । मतदान गर्नका निम्ति देशमा नै उपस्थित हुनु नपर्ने, मतदान केन्द्रमा नै उपस्थित हुनु नपर्ने व्यवस्था छ ।

तर हाम्रो देशमा त्यो सुविधा छैन । एक सय ३७ देशले जहाँबाट पनि मत हाल्न पाउने व्यवस्थालाई तनि तरिकाबाट व्यवस्थापन गरेका छन् । एउटा अनलाइन भोटिङबाट । दोस्रो अर्ली भोटिङ, मतदानको मितिभन्दा अगाडि पनि मतदान गर्नसक्ने बन्दोबस्त गरेका छन् । तेस्रो पोस्टल भोटिङ, मतपत्र पोस्टमार्फत पठाएर गरेका छन् । जसरी भए पनि मतदान आधारभूत मानव अधिकारको विषय हो । त्यो मताधिकारबाट कसैलाई पनि वञ्चित गर्नुहुँदैन भनेको कारणले यो बन्दोबस्त गरेको हो । हाम्रो सन्दर्भमा भन्ने हो भने आजभन्दा चार÷पाँच वर्षअघि नै सर्वोच्च अदालतले यो सम्बन्धमा आवश्यक व्यवस्था गर्नू भनेर परमादेश पनि जारी गरिसकेको हो ।

त्यति हुँदा पनि कानुन संशोधन हुन नसक्दा विदेशमा भएका ६० लाख मतदाता र देशभित्र मतदान प्रक्रियालाई व्यवस्थापन गर्नका निम्ति कर्मचारी र सुरक्षाकर्मी मतदानबाट वञ्चित हुने अवस्था बनेको छ । यसले लोकतन्त्रलाई सबलीकरण गर्न, बलियो बनाउन सहयोग गर्छ भन्ने मलाई लाग्दैन ।

त्यसैले यसको बारेमा संसारका एक सय ३७ देशले गर्न सक्ने, हामीले किन नसक्ने ? विदेशमा गएर रेमिट्यान्सबाट चलेको देशले रेमिट्यान्स पठाउनेहरूलाई मतदान गर्न बन्दोबस्त गर्न नसक्ने, मताधिकारबाट वञ्चित गर्ने अवस्था ठिक होइन । त्यस्तै बहुमत मतदाता अनुपस्थित रहेर अल्पमत मतदाताले मतदान गरेर, अल्पमतमध्येको बहुमतलाई हामीले लोकतन्त्र मान्नुपर्ने बिडम्बना देखिएको छ । यी कुरालाई गम्भीरतापूर्वक मनन गरेर आउँदा दिनमा कानुन संशोधन गरी त्यसको बन्दोबस्त गर्नुपर्छ ।’

संविधान सभा सदस्य देवकोटाले अहिलेको कानुनमा पनि निविदा मतपत्रको उल्लेख गरिएको भन्दै त्यसबाट पनि चुनावमा खटिएका व्यक्तिहरूको मतदानको अधिकारलाई सुनिश्चितता गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले मतदाताले कुनै मतदान केन्द्रबाट हालेको भोटलाई सिलबन्दी गरेर उसकै मतदान केन्द्रमा पु¥याउने व्यवस्था गर्न सकिने बताउनुभयो । संविधान सभा सदस्य देवकोटाले मतदान हुनुभन्दा एक हप्ता अगाडि मतदान गरी मतपत्र सिल गरेर सम्बन्धित ठाउँमा गणनाका निम्ति पठाउन सकिने पनि बताउनुभयो ।

सर्वोच्च अदालतले २०७५ सालमा पालिका चुनाव २०७९ मा लागू हुने गरी विदेशमा रहेका मतदाताले पनि मताधिकार पाउनुपर्ने निर्देशनात्मक आदेश दिएको थियो ।