एजेन्सी, बैशाख २७

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् ।

पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।

उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए ।

यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् ।

उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाएका छन् ।

भ्रमणका क्रममा मोदीले एक ‘मोनास्ट्री’को शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।

तर मोदीको भ्रमण कार्यक्रमबारे अझै जिल्ला प्रशासन कार्यालय र लुम्बिनी विकास कोषमा विस्तृत विवरण नआएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेयले भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भए पनि पूर्ण विवरण अझै नआएको बताए ।

उनले भ्रमणको तयारीलाई लिएर सुरक्षा लगायतका सबै व्यवस्थापन भने गरिएको जानकारी दिए ।