महोत्तरी, बैशाख २७

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरु घरदैलो अभियानको समापन गर्दैै उम्मेदवार अवधेश चौधरीले महोत्तरी गाउँपालिकालाई आधुनिक पालिका बनाउने उद्घोष गरेका छन् ।

मंगलबार महोत्तरीको महोत्तरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका नेता चौधरीले घरदैलो अभियान समापन भएको जनाउँदै उनले गाउँपालिकालाई शिक्षित, स्वास्थ्य, रोजगार तथा समाजको विकासलाई समेत संँगसँगै अघि बढाएर लैजानका लागि आफुसँग दिर्घकालिन योजना रहेको बताए ।

महोत्तरी गाउँपालिकाको सम्पूर्ण वडा, विभिन्न टोल, तथा हरेक घर आँगनसम्म गाउँवासीसम्म पुगेर गुनासो, समस्या र ठुलाबडाको आशिर्वाद थापेको भन्दै अध्यक्ष पदका उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, रोजगार र गाउँलाई आधुनिक बनाउनका लागि गाउँको पूर्वाधार निर्माण विकास र शहरसम्म जोड्ने र गाउँमै रोजगारीको सृजना गर्नेलगायतका विभिन्न योजनाहरु कार्यान्वयन गर्दै यूवालाई विदेश पलायन हुनबाट रोक्ने ठोस योजना रहेको बताए ।

उनले गाउँमै विकास निर्माण र शिक्षा तथा स्वास्थ्यलाई ख्याल गर्दै रोजगारीको व्यवस्था भएमा यूवालाई वैदेशिक रोजगारीमा जानु नपर्नेसँगै गाउँ समाजमा सबै घरपरिवारमा खुसीसाथ परिवारसँगै रहेमा कुनैपनि किसिमको समस्याको उत्पन्न नहुने ठोकुवा समेत गरे ।

घरदैलो अभियानलाई अन्तिमरुप दिँदै आफु फराकिलो मतान्तरले निर्वाचित हुने दावी समेत गरे । उनले आफुसँग यूवा, ज्येष्ठ नागरिक र हरेक गाउँवासीको साथ, सहयोग र समर्थन रहेकाले आफु अधिक मतले निर्वाचित हुने विश्वास व्यक्त गरे ।

उनले आफु निर्वाचित भएपछि गाउँमा शिक्षा, कृषि विकास र आर्थिक क्षेत्रमा क्रान्ति ल्याउने नै ल्याउने बताए ।

घरदैलो क्रममा गाउँवासीको अधिक नै समर्थन र सहयोग पाएको पनि उनले बताए ।