काठमाण्डौं, बैशाख २८

अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राति भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

आज बेलुकादेखि भारतमा उत्पन्न भएको आसानी नामको समुद्री आँधीको प्रभाव पनि पर्न थाल्नेछ । अहिले बादल आउने क्रम सुरु भएको श्रेष्ठले बताउनुभयो ।

आसानी वायुको प्रभाव आज सामान्य रूपमा मात्रै पर्नेछ । भोलि बिहानदेखि भने देशभरको मौसम बदली हुनेछ । तर लगातार पानी पर्ने सम्भावना भने नभएको मौसमविद् श्रेष्ठले बताउनुभयो । भोलि बुधवार दिनभर बादल लागे पनि पानी भने लगातार नपरि पर्दै रोकिने उहाँले बताउनुभयो ।

आसानी वायुको प्रभाव आउँदो वैशाख ३० गते अर्थात् चुनावको दिनसम्म नै रहने उहाँले बताउनुभयो ।