महोत्तरी, बैशाख २९

महोत्तरीमा जिल्लाको औरही नगरपालिकामा दुईक्षबीच भएको झडपमा पाँच जना घाइते भएका छन् ।

घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार बिहान जग्गाको विषयमा औहरी–२ का चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप भएको हो ।

झडपमा चन्देश्वर साहकी श्रीमती ६५ वर्षीया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएका छन्। दुवैजनालाई उपचारको लागि धरान पठाइएको छ ।

यस्तै अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

औरहीस्थित राधा कृष्ण क्लिनिकमा उनीहरुको उपचार भइरहेको छ।
जग्गाको विषयलाई लिएर विवाद भएको र त्यसै क्रममा झडपको स्थिति भएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिएका हुन ।