जनकपुर, बैशाख २९

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ ।
स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा अवस्थासहित पूरा भएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको १८ वटै स्थानीय तहका मतदान केन्द्रहरुमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु पुगिसकेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै मतदानस्थलमा नेपाल प्रहरी र म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

धनुषाको हरेक मतदानस्थलहरुको सुरक्षाका लागि २ हजार नेपाल प्रहरी र ३ हजार १२१ म्यादी प्रहरी गरि कूल ५ हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिएको छ । धनुषामा सबै सुरक्षानिकाय परिचालन भएपछि सुरुक्षाकर्मीको अभाव रहेकाले थप सुरक्षाकर्मीको माँग गरिएको छ ।

उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदानस्थल सहित हरेक स्थानीय तहमा सादा पोशाकका प्रहरी र निर्वाचन अनुगमनका लागि मानवअधिकार सहितको टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको बताए ।

मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द रहने छ ।
धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

राति ९ बजेदेखि मतगणना गरिने

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतदान सम्पन्न भएलगत्तै राति ९ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिए ।

प्याकुरेलले मतदान सकिएपछि राति ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको जानकारी दिए । उनले छिटोमा राति ९ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना सुरू हुने बताए ।

उनले भने, ‘साँझ ५ बजे मतदान सम्पन्न भइसकेपछि कागजपत्र मिलाउँदा २ घण्टासम्म लाग्न सक्छ । त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आएको १ घण्टा पछि मतगणना प्रारम्भ हुन्छ ।’

मुख्य निर्वाचन अधिकृत प्याकुरेलले मतदाता नामावलीमा नाम र क्रम संख्या भेटिएपछि एकजना मतदातालाई मतदान गर्न कम्तिमा पनि ३ देखि ५ मिनेट समय लाग्न सक्ने आंकलन गरेका छन् ।

मदिरा निषेध तथा सीमनाका बन्द

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाकाहरु बन्द गरेको छ भने मदिरा समेत निषेध गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयरहीत वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसारे आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।