
सिडिओ भन्छन्–झोलामा लुगाफाटा थियो
जनकपुर, वैशाख २९
स्थानीय तहको निर्वाचनको पुर्व सन्ध्यामा मौन अवधिको समयमा निर्वाचन आचारसंहिता विपरित रकम बाँडिरहेको भन्दै नेकपा एमालेकै एक पक्षले आरोप लगाएपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी विवादमा मुछिएका छन् ।
उनी आवद्ध रहेका नेकपा एमालेका कार्यकर्ताले सो आरोप लगाएपछि उनी विवादमा मुछिएका हुन् ।
जनकपुरधाम स्थित सिताशरण होटेलमा बसेर मतदाता किन्न पैसा बाँडेको एमालेका एक पक्षले आरोप लगाएपछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष अन्सारीले गरेको क्रियाकलापको विरोध गर्दै नारावाजी गरेपछि नेकपा एमाले जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले समातेको थियो । उनलाई प्रहरीले एक घण्टापछि सोधपुछ गरि छाडेका छन् । भने अध्यक्ष अन्सारीलाई भने प्रहरीले त्यतिबेला नै जिल्ला प्रहरी कार्यालय धनुषा नलगि जनकपुरधाम विमानस्थल लगेको थियो ।
बिहीवार जनकपुरधाम स्थित होटल सीताशरणको रुम नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुई/तीन दिनदेखि अध्यक्ष अन्सारी सोही होटलमा बस्दै आएका थिए । मुस्लिम आयोगका अध्यक्ष अन्सारी मतदाता किन्न पैसा बाँडिरहेको छ भन्दै एमालेका एक पक्षले होटल सीताशरण घेराउ गरेको थियो ।
एमालेको एक समुहका कार्यकर्ताहरुले होटल घेराउ गरेपछि अप्रिय घटना हुन सक्ने सम्भावित कुराको दृष्टिगत गर्दै नेपाल तथा शसस्त्र प्रहरीको कडा सुरक्षा लगाइएको थियो ।
कडा सुरक्षाकै बीच एमाले समर्थकहरुले नारावाजी गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले अध्यक्ष अन्सारीलाई नियन्त्रणमा लिएका थिए । उनीसँग रहेका दुई वटा सुटकेस र एउटा झोला समेत प्रहरीले बरामद गरेको थियो । एमालेका कार्यकर्ताहरुले सो झोला चेकजाँच गर्न प्रहरीसँग माग गर्दै अध्यक्ष अन्सारी विरुद्ध नारावाजी समेत गरेको थियो ।
तर धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने उनले बोकेको झोलामा लुगाफाटालगायतका सामग्रीहरु रहेको बताउँछन् । अध्यक्ष अन्सारीलाई सकुशल विमानस्थलबाट काठमाण्डौँ पुर्याइएको समेत उनले बताए ।
तर एमालेका नगर कमिटीका अध्यक्ष भण्डारीले भने आयोगका अध्यक्ष अन्सारीले गलत कार्य गरेकाले आफुहरुले विरोध गरेको बताए ।
एमाले नगर कमिटीका अध्यक्ष भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्दै स्वतन्त्र उम्मेदवार जानकीराम साहसँग बसेर एमालेका उम्मेदवार शिवशंकर साह हिराको विरुद्धमा षड्यन्त्र रच्ने दुश्प्रयास गरेकाले आफुहरुले भण्डाफोर गरेको बताए ।
उनले एमालेको खोल ओढेर आफ्नै उम्मेदवार विरुद्ध षड्यन्त्र गरेकाले केही व्यक्तिलाई रकम बाँडिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई जिम्मा लगाइएपनि उल्टै स्कर्टिंग गरेर काठमाण्डौँ पुर्याएको प्रति आपत्ति समेत जनाएका छन् ।
यता अध्यक्ष अन्सारीले भने आफुमाथि एमालेकै केही नेताहरुले अफवाह फैलाएको आरोप लगाए ।