जनकपुर, बैशाख २९
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा रकमको चलखेल भएको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाउँदै दुष्कर्म फैलाउने कार्य नगर्न नगराउन ठहर गरेको छ ।
निर्वाचनमा पैसाको चलखेल र मत खरीद गर्ने कार्य लोकतन्त्रमा अवाञ्छनीय प्रवृति फैलाउने दुष्कर्म रहेको ठहर गरेको हो ।
तमलोपाका धनुषा जिल्ला अध्यक्ष धिरेन्द्रबहादुर सिंहद्वारा जारी गरिएको हस्ताक्षरित विज्ञप्तिमा यस्ता दुष्कर्मले जनताको सर्वोच्चताको अपमान रहेको उल्लेख गरेको छ ।
सो विज्ञप्तीमा ‘जनकपुरधाम उपमहानगरपालिका लगायत विभिन्न स्थानहरुमा मत खरीद गर्न केही उम्मेदवारहरुबाट भइरहेको अवाञ्छनीय गतिविधिहरू जनता समक्ष सार्वजनिक भएको र यस्ता गतिविधिहरु व्यापक रुपमा भइरहेको तथ्यको यी संकेत मात्र रहेको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टी लोकतन्त्र बिरोधी यी अवाञ्छनीय गतिविधिको घोर विरोध गर्दछ ।’ उल्लेख छ ।
निर्वाचन आयोग र प्रशासन आचारसंहिता विपरितका यस्ता गतिविधिहरूप्रति असंवेदनशील रहेको ठहर गर्दै तमलोपाले यसतर्फ सक्रियतापूर्वक प्रभावकारी कारबाहीको माग समेत गरेको छ ।