जनकपुर, बैशाख ३०

नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकोले सोको सदुपयोग जनताले मतदान गरि आफ्नो भाग्य र भविष्यको निर्धारण गर्ने समय रहेको बताएका छन् ।

उनले मुलुकमा राजनीतिक सामाजिक परिवर्तन भएकाले लोकतन्त्रको अधिकार प्रयोग गरि ल्याएको प्रतिफलको रक्षाका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भुमिका रहेका बताएका छन् ।

शुक्रबार लक्ष्मिनीया गाउँपालिका वडा नम्बर ४ स्थित सपहीमा रहेको विपी कोइराला माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति यादवले पाँच वर्षका लागि आफ्नो जनप्रतिनिधि चयन गर्ने भएकाले आजको दिन नेपाली जनताको लागि भाग्य र भविष्य कोर्ने दिन रहेकाले उत्साहित रहेको उनको भनाई छ ।

उनले आफ्नो अधिकार, कर्तव्य, दायित्वसँगै शान्तिपूर्ण क्रान्तिको लैण्डमार्क रहेकाले सही उम्मेदवार, पार्टी, व्यक्तिलाई मतदान गरि आफ्नो भाग्यभविष्यको निर्धारण गर्ने दिन रहेकाले मतदान गरेको बताए ।

मुलुक परिवर्तनका लागि राणाकाल विरुद्धको आन्दोलन, पञ्चायत शासन विरुद्धको आन्दोलन, सशस्त्र संघर्ष र शान्तिपूर्णरुपमा राष्ट्रिय आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकाले सोको रक्षाका लागि पनि जनताले आफ्नो स्वविवेक प्रयोग गर्दै जनप्रतिनिधि छनोट गर्ने अधिकार आफ्नो हातमा रहेकाले यसको सदुपयोग गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याएँ ।