
जनकपुर, बैशाख ३०
मधेश प्रदेशको विभिन्न मतदान स्थलमा विवादका कारण गोली चलेको छ ।
शुक्रबार स्थानीय तहको निर्वाचनको क्रममा मतदानको विषयलाई लिएर धनुषा, महोत्तरी, सर्लाहीलगायतका मतदानस्थलमा विवाद हुँदा गोली चलेका हो ।
धनुषाको शहिदनगर नगरपालिकामा दुई पक्ष वीच मतदानको विषयलाई लिएर झडप भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । त्यस्तै महोत्तरीको बलवा नगरपालिकामा गोली चलेको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका वडा नम्बर ५ स्थिते मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेका हुन् ।
महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा वडा नम्बर ५ स्थित मनसिव महाविर आधारभुत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नम्बर ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लािग राखिएको मतदाता नामावली केही सुधार भएर च्यातिएपछि होहल्ला गरेको र भिडलाई चितरवितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ट हवाई फायर गरेको बताए ।
विवाद अहिले समाधान भएर मतदान भइरहेको उनले बताए ।
त्यसैगरी स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् ।
राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
धनकौल गाउँपालिका वडा नम्बर २ स्थित पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको उज्यालो अभियानलाई जानकारी दिए । राजनीतिक दलका कार्यकर्ताहरुबीच ढुंगा हानाहान समेत भएको छ ।
विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।