सप्तरी, बैशाख ३०

सप्तरीको डाकेश्वरी नगरपालिका २ मा रहेको जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको मतदान आज शुक्रवारका लागि स्थगित भएको छ ।

मतदान गर्ने क्रममा विवाद उत्पन्न भइ स्थानीयवासीले मतदान अधिकृत विपीन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत तोडफोड गरेकाले मतदान स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाइ पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयअनुसार मतदान स्थगित गरिएको उहाँले बताउनुभयो ।

मतदानमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छा विपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो ।

निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसम्मति निर्णय भएको थियो ।

त्यो निर्णयमा एमाले, कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए ।

विवाद हुँदा ‘क’ केन्द्रमा एक सय ३६ मत र ‘ख’ केन्द्रमा एक सय ६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो ।

कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

अशक्त महिलाले इसारा गरेकै ठाउँमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताउनुभयो ।