सप्तरी, बैशाख ३०

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित भएको छ । सो मतदान केन्द्रमा अब आगामी जेठ १ गते निर्वाचन हुने भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको जनाइएको छ ।

सो मतदान केन्द्रमा निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते निर्वाचन गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
कुटपिटबाट मतदान अधिकृत विपिन यादव भने घाइते भएका छन् ।

उनको उपचार राजविराज स्थित अस्पतालमा भईरहेको जनाइएको छ ।
सो मतदान केन्द्रमा २ हजारभन्दा बढी मत मतदान भईसकेको थियो । तर केही व्यक्तिहरुको एक समूहले एक्कासी तोडफोड तथा कर्मचारीमाथि कुटपिट गरेपछि मतदान नै स्थगित गर्नु परेको उनले बताए । ती व्यक्तिहरुले मतदानस्थलका आवश्यक कागजातहरु समेत च्यातेका थिए ।
मतदान अधिकृत मगरले वृद्ध मतदाताको मतपत्रमा मतदाताको भावना विपरित चुनाव चिन्हमा छाप लगाइदिएपछि विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर आक्रोशित मतदाताले मतदान अधिकृतमाथि हातपात समेत गरेको थियो ।