
सर्लाही, बैशाख ३०
सर्लाहीको बरहथवामा जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्र वीच झडप हुँदा दिउँसो देखि नै अवस्था तनाव ग्रस्त छ ।
शुक्रबार बरहथवा नगरपालिका वडा नम्बर १७ स्थित बरहथवा मतदान केन्द्रमा जसपा नेपालबाट वडा अध्यक्षका उम्मेदवार रामविश्वास रायले एक्कासी आक्रमण गर्दा माओवादीबाट वडा अध्यक्षको उम्मेदवार रहेका वीरेन्द्र राय सख्त घाइते भएका छन् । उनको उपचार जिल्ला स्थित अस्पतालमा भईरहेको माओवादीका नेता भुपनारायण अधिकारीले जानकारी दिए ।
माओवादीका वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र रायमाथि सांघातिक आक्रमण भएपछि माओवादीले निर्वाचन स्थगितको माँग गर्दै आएका छन् । भने जसपा नेपालका स्थानीय नेताहरुले भने पुनः मतदान गर्न माग गर्दै आएका छन् ।
निर्वाचन आयोगको निर्देशन अनुसार तीन पटकसम्म निर्वाचन मतदान गर्न खोज्दा चार पटक झडपको अवस्था सृजना भएको र अवस्था तनावग्रस्त रहेकाले आफुले मतदान गराउन नसक्ने भन्दै जानकारी गराएपनि जसरी पनि निर्वाचन गराउन र एक पक्षले निर्वाचन स्थगित गर्न माग गर्दा आफु निकै सकसमा परेको निर्वाचन अधिकुत सुभाष कुमार यादवले जानकारी दिए ।
उनले भने, ‘ दिउँसो एक बजे एक्कासी हो होल्ला भयो, केही बेरको लागि निर्वाचन स्थगित भयो, उम्मेदवार नै एक जना घाइते भएको अवस्था छ, चार पाँच पटक झडप पनि भयो, यस वीचमा निर्वाचन पनि गराउनै खोजे, तर सम्भव भएन, निर्वाचन आयोगलाई घटना बारे जानकारी पनि गराए, तर आयोगबाट आजै निर्वाचन सम्पन्न गर्न निर्देशन आएपछि सोही अनुसार आफुले मतदान सुचारु गर्न खोजे, तर सम्भाव भएन । एक पक्षले निर्वाचन गराउन दवाव सृजना गराउँदै आएको छ, अर्को पक्षले निर्वाचन उम्मेदवार माथि आक्रमण भएकाले निर्वाचन गराउन नदिने खालको अवस्थाको सृजना हुँदा निकै सकसमा परेको छु ।’ उनले अघि थप्दँै भने, ‘अब पाँच पनि बजिसक्यो, अब के हुन्छ, माथि जानकारी गराएको छु ।’
उनका अनुसार विहान सात बजेदेखि सुरु भएको मतदान दिउँसो एक बजेसम्म शान्तिपूर्णरुपमा ३७२ मतदान भएको छ । यस मतदान केन्द्रमा १९५४ मतदाता रहेको उनले जानकारी दिए ।