एजेन्सी, बैशाख ३१

दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागीमा कम्तीमा २७ जना मारिएको पुष्टि भएको छ ।

मृतकमध्ये दमकल विभागका दुई कर्मचारी पनि रहेका छन् । यस्तै १० जना गम्भीर घाइते भएका छन् । दिल्लीको आउटर डिस्ट्रिक्टका प्रहरी उपायुक्त (डीसीपी) समिर शर्माले यसबारे पुष्टि गरेका हुन् ।

प्रहरीले भवनका मालिक हरिश गोयल र वरुण गोयललाई हिरासतमा लिएको जानकारी दिएको छ ।

आगो शुक्रबार बेलुका करिब पौने पाँच बजे भएको थियो । लगभग ७ घण्टापछि आगोमाथि नियन्त्रण लिइएको थियो । यद्यपि, अबेर राती १२ बजे आगो पुनः सल्किन थाल्यो । दमकलका कर्मचारीले घटनास्थलमा पुगेर झ्याल फुटाउँदा त्यहाँ भित्र फसेका मानिसहरुको ज्यान बच्न सफल भयो ।

भवनमा ३०–४० जना अझै फसेका छन

भारतीय सञ्चार माध्यमका अनुसार उक्त भवनमा ३० देखि ४० जना अहिले पनि फसेका छन् । उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय थिए । त्यहाँबाट करिब १५० जनालाई उद्धार गरिएको छ । उद्दारका लागि सय जनालाई तैनाथ गरिएको छ । मोदीले दुर्घटनामा दुःख जताउँदै मृतकको परिवारलाई २–२ लाख भारु र घाइतेलाई ५० हजार भारु मद्दतको घोषणा गरेका छन् ।

भवनको पहिलो तलामा सीसीटीभी फ्याक्ट्री र गोदाम छ । यहाँ शर्ट सेर्किटबाट लागेको आगोले भीषण रुप धारण गरेपछि पूरा भवन आगोको चपेटामा परेको हो । त्यहाँ धेरै नै मजदुर काम गरिरहेका थिए । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले बचाउ कार्य छिटो सुरु हुन सकेन ।