काठमाण्डौ, जेठ ३

नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।

प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो । योसँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर एक सय ९२ दशमलव ९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर एक सय ८४ दशमलव ०२ रुपैयाँमा थियो ।

यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३६ पैसा पुगेको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्य सूचीअनुसार नयाँ खरिद लागतअनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको जनाइएको छ ।

दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।