एजेन्सी, जेठ ४

यसै वर्ष मार्चमा चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना भएको थियो । यो विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित १३२ जनाको मृत्यु भएको थियो । विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य थिए ।

यो विमान दुर्घटना बारेमा अहिले एक चकित पार्ने दाबी गरिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमानलाई जानाजानी खसालिएको हो ।

प्रतिवेदनमा उडानको ब्ल्याक बक्सबाट प्राप्त तथ्यांकले विमानलाई जानाजानी खसालिएको संकेत गरेको दाबी गरिएको छ ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा विमानमा कुनै प्रकारको यान्त्रिक तथा प्राविधिक गडबडी भएको कुनै संकेत नभेटिएको अनुसन्धानकर्ताले बताएका छन् ।

यो बोइङ विमान थियो । बोइङ ७३७–८०० विमान दक्षिणी चीनको कुनमिङ सहरबाट ग्वान्झाउ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

वाल स्ट्रिट जर्नलका अनुसार विमान ककपिटमा बसेका व्यक्तिले निर्देशन अनुसार नै अघि बढिरहेका थिए ।

वाल स्ट्रिट जर्नलले नै दुर्घटनाबारे पहिलो जानकारी दिएको थियो ।

एबीसी न्यूजले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त दुर्घटना जानाजानी भएको देखिएको बताएको छ ।

यसअघि चाइना इस्टर्न एयरलाइन्सले विमानमा सवार तीन जना पाइलट पूर्णरुपमा दक्ष र स्वस्थ रहेको बताएको थियो ।

अमेरिकी सञ्चारमाध्यमको यो दाबीपछि बीबीसीले चाइनिज इस्टर्न एयरलाइन्ससँग सम्पर्क गर्ने प्रयास गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

दुर्घटनाको अनुसन्धान गरिरहेको चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी) ले पनि बीबीसीको दाबीबारे सोधेको प्रश्नको जवाफ दिएको छैन ।

चीनमा सबैभन्दा भयानक विमान दुर्घटना सन् १९९४ मा भएको थियो

सन् १९९४ मा सियानबाट ग्वाङ्झाउ जाँदै गरेको चाइना नर्थवेस्ट एयरलाइन्सको टुपोलेभ टु–१५४ विमान दुर्घटनामा परेको थियो ।

यसमा १६० जनाको मृत्यु भएको थियो । यो चीनको सबैभन्दा भयानक विमान दुर्घटनामध्ये एक हो ।