सप्तरी, जेठ ५
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गृहपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष राउतको गृहपालिका सप्तरीको महादेवा गाउँपालिकामा लोसपाका उम्मेदवार विजयी भएका हुन् ।
सो पालिकामा लोसपाका सुनिलकुमार मण्डलले ४ हजार ५७० मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै, जसपाका शिवनन्दन यादवले १ हजार ७४२ मत पाएका छन् ।
सो गाउँपालिकामा जनमत पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चौथो स्थानमा छन् । जनमतका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत मात्र ल्याएका छन् ।
त्यस्तै, उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सषु्माकुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी हुन् ।
