बारा, जेठ ५
बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् ।
काँग्रेस , माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाए ।
उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाए । २०४२ देखि निजगढमा पकड जमाउदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा ०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो । मेयरमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी भएका थिए ।
यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गरे । २०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित भएका थिए । त्यसयता ०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।
‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो,’ एमाले मधेस प्रदेश कमिटी सदस्य एवं निजगढका पूर्वगाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भने, यसपटक एमालेले आफ्नो शाख कायम राखको छ ।’