जनकपुरधाम, जेठ ५

मतदान सम्पन्न भएको छठौँ दिनसम्म आइपुग्दा धनुषाको १८ मध्ये १० वटा स्थानीय तहको अन्तिम नजिजा आइसकेको छ । जस अनुसार अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसले बाजी मारेका छन् ।

अहिलेसम्म लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका र धनुषाधाम नगरपालिकाको परिणाम सार्वजनिक भएको हो ।

पाँच वटा पालिकामा नेपाली कांग्रेस, तीनवटामा जसपा र दुईवटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन् भने कांग्रेसकी फूलकुमारी यादवनी उपाध्यक्षमा विजयी भएकी हुन ।

त्यस्तै, औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन । उपाध्यक्षमा एमालेकै पुनम साह विजयी भएकी हुन् ।

धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामबति देवी मण्डल निर्वाचित भएकी हुन् ।

जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् ।

त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा बेचन दास तत्मा निर्वाचित भएका छन् । उपमेयरमा नेकपा एमालेकी आशा झा निर्वाचित भएकी छन् ।

धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा बालेश्वर मण्डल र उपमेयरमा विद्या देवी भुजेल निर्वाचित भएकी छन् ।

त्यस्तै, कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरू निर्वाचित भएका छन् । मेयरमा विशेश्वर यादव र उपमेयरमा शिला देवी मण्डल निर्वाचित भएकी छन् ।

शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जयकुमार यादव अध्यक्ष पदमा र सैदा खातुन उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा फुलकुमारी सिंह निर्वाचित भएकी छन् ।