
जनकपुरधाम, जेठ ५
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवको जमानत जफ्त भएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका यादव चौथो स्थान हासिल गरेका छन् । उनले मात्र ४६९ मत ल्याउन सकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरीले ५ हजार १४४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनाराण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ र जसपाका दिपक यादवले ४६९ मत पाएका छन् ।
बिहिबार मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार यादव चौथो नम्बरमा सीमित भएका हुन् ।
उपप्रमुखमा पनि कांग्रेसकै ममता महतो ४ हजार ४४४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, नेपाल सुशासन पार्टीकी कबिता कुमारीले ८२२ र जसपाकी असमोहनी कुमारीले ६८९ मत पाएकी छन् ।