महोत्तरी, जेठ ६

महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री विजयी भएका छन् ।

क्षेत्री १४ हजार २१० मत ल्याएर स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका हुन् । क्षेत्री ४ हजार ४७४ मतअन्तरले नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्कालाई पराजित गर्दै मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी खड्का ८ हजार ३२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्रीकै प्यानलबाट उपमेयर पदकी स्वतन्त्र उम्मेदवार तारा देवी महतो पनि निर्वाचित भएकी छन् । महतो ९ हजार ७३६ मत ल्याएर विजयी भएकी हुन् । महतोकी निकटतम प्रतिद्वन्दी कृष्ण माया गौतम ८ हजार १८५ मत ल्याइन् ।

क्षेत्रीकै स्वतन्त्र प्यानलबाट बर्दिबासको चारवटा वडाको वडाध्यक्ष समेत निर्वाचित भएका छन् । वडा नम्बर १ मा भोला खड्का, वडा नं. ७ मा रामस्वगारथ यादव (भोरिल, वडा नं.१३ मा लक्ष्मण सिंह र वडा नं. १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भएका हुन् ।

क्षेत्री नेपाली काँग्रेसका बागी उम्मेदवार थिए । मनोनयन दर्ताको दिन काँग्रेस सभापति देउवाले क्षेत्रीलाई पार्टीबाट टिकट दिएनन् । चिरन्जीवी हमाललाई काँग्रेसले टिकट दिएपछि क्षेत्री पार्टीबाट विद्रोह गर्दै समूह बनाएर वडा न.ं १ देखि १४ सम्म स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

क्षेत्री मेयर, उपमेयर र चारवटा वडाध्यक्ष जितेपनि काँग्रेसका अधिकारिक उम्मेदवार उम्मेदवार चिरञ्जीवी हमाल भने मात्र १ हजार २६३ मतमा सिमित भए ।

कांग्रेसबाट उपमेयरकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १७५८ मत ल्याएकी छन् । मतगणना परिणाम अनुसार बर्दिबासमा माओवादी केन्द्र दोश्रो, एमले तेश्रो र काँग्रेस चौथो स्थान ल्याएका छन् ।

बर्दिबास नगरपालिका नेकपा माओवादीको आधार क्षेत्र रहेको थियो । तर, स्वतन्त्र उम्मेदवार क्षेत्री समूहले माओवादीको लाल किल्ला भत्काएर विजयी भएका छन् ।