सप्तरी, जेठ ८
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेका रामलखन मलाहा पाँच हजार आठ सय ५४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार तीन सय ९६ मत ल्याउनुभयो ।
उपमेयरमा एमालेकै मीराकुमारी यादव ६ हजार एक सय ९७ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी जसपाकी इन्दुदेवी यादवले पाँच हजार दुई सय नौ मत ल्याउनुभयो । इन्दुदेवी यादव निवर्तमान उपमेयर हुनुहुन्थ्यो ।
वडाध्यक्षमा एमाले र कांग्रेसले चार÷चार, जसपा र लोसपाले एक÷एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ ।
योसँगै सप्तरीमा एमालेको निर्वाचित पालिका तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच पालिकामा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई÷दुई पालिका, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक पालिकामा विजयी हासिल गरेको छ ।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिनुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइरहनुभएको छ ।
