मधेस प्रदेश, जेठ ११

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसमै कमजोर साबित भएको छ । गत स्थानीय तहको चुनावमा २५ वटा प्रमुख÷अध्यक्ष जिते तत्कालीन राजपा नेपाल (हाल लोसपा नेपाल) यस पटकको स्थानीय तहमा १४ वटा स्थानीय तहमात्र हात पार्न सफल भएको छ । त्यो पनि मधेस प्रदेशमा मात्र । अन्य प्रदेशमा लोसपाका उम्मेदवारले केही वडा अध्यक्ष र सदस्यबाहेक पालिका अध्यक्ष÷प्रमुख जितेका छैनन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार लोसपाले सप्तरीमा तीन, महोत्तरीमा पाँच, सर्लाहीमा एक, रौतहटमा दुई, बारामा दुई र पर्सामा एउटा पालिका जितेको छ । विगतमा जितेको महोत्तरीको मटिहानी नगरपालिका, सर्लाहीको गोडैता नगरपालिका र सप्तरीको रुपनी गाउँपालिकामा मात्र यो पार्टीले दोहो¥याउन सफल भएको छ । अन्य ११ वटा नयाँ पालिका हात परेका छन् ।

लोसपाले अघिल्लो चुनावमा जितेको जनकपुर उपमहानगरपालिका, राजविराज नगरपालिका, जलेश्वर नगरपालिका, हनुमाननगर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, मटिहानी नगरपालिका लगायतका पालिका यस पटक गुमाएको छ ।

सिरहा र धनुषामा लोसपा शून्य नै भएको छ । सिरहामा यो पार्टीले एउटा सदस्यसम्म जित्न सकेको छैन । धनुषामा यो पार्टीले नौवटा वडा अध्यक्ष, १२ वटा महिला सदस्य, १० वटा दलित महिला सदस्य र १४ वटा सदस्य जितेको छ । यसअघि जनकपुर उपमहानगरपालिकाको प्रमुख नै तत्कालीन राजपा नेपालबाट निर्वाचित भएका थिए । लोसपाले सबभन्दा बढी जितेको महोत्तरीमा हो । त्यहाँ चारवटा नगरपालिकामा प्रमुख जितेको छ भने एउटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

महोत्तरीमा राम्रो नतिजा ल्याउनुको कारण त्यहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीको प्रभावका कारण पनि हो । राजेन्द्र महतो र अनिल झाको गृह जिल्लामा भने लोसपा कमजोर देखिएको छ । राजेन्द्र महतोले आफ्नै गृह जिल्ला सर्लाहीमा आफ्नो गाउँपालिकामा समेत पार्टीलाई जिताउन सकेनन् । यसअघि उनकै भाइले चुनाव जितेकोमा यसपटक काँग्रेसले जितेको छ ।

अनिल झाले आफ्नो गाउँ दुर्गाभगवती गाउँपालिकामा पनि जिताउन सकेनन् । यो पालिकामा अघिल्लो चुनावमा काँग्रेसले जितेको थियो भने यसपटक माओवादी केन्द्रले जितेको छ । लोसपाले रौतहटमा यमुनामाइ गाउँपालिका र इशनाथ नगरपालिकामा मात्र जितेको छ ।

२०७४ को स्थानीय तहको चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को नामबाट चुनाव लडेको लोसपा २०७७ वैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपालमा परिणत भएको थियो । तर एक वर्ष नबित्दै जसपामा उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहबीच आन्तरिक विवाद हुँदा २०७८ भदौमा पार्टी विभाजन भयो । महन्थ ठाकुर नेतृत्वको समूह जसपाबाट अलग भएर लोसपा गठन ग¥यो ।

अघिल्लो निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालभन्दा बढी सीट राजपा नेपालले जितेको थियो । राजपा नेपाल तेस्रो चरण अन्तर्गत मधेस प्रदेशको स्थानीय तह निर्वाचनमा मात्र सहभागी भएको थियो ।