काठमाण्डौं, जेठ १२
बालेन्द्र साह उर्फ बालेन साह काठमाडौंको प्रमुखमा निर्वाचित भइसकेका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
काठमाडौंको प्रमुखमा उनको जित सुनिश्चित भएसँगै मधेसमा एक प्रकारले तरङ्ग आएको छ । बालेनको पुर्ख्यौली घर मधेसमै रहेको र उनी मधेसी मूलका युवा रहेका कारण पनि बालेनको जितमा मधेस खुसी देखिन्छ ।
बालेन आफैलाई भने मधेसी मूलको युवा भएर काठमाडौं महानगरको प्रमुखमा जित हासिल गर्दा कति गर्व भइरहेको छ भन्ने पाटो प्रस्ट हुन सकेको छैन । किनकि, बालेनले अहिलेसम्म आफूलाई मधेसी मूलको नागरिकका रुपमा सार्वजनिक रुपमा चिनाउन चाहेका छैनन् ।
पत्रकार दीपक भट्टराई लेख्छन्, ‘भोट गन्न थालेदेखि काठमाडौंका चारवटा बिहे भोजमा परियो । गफको केन्द्र त बालेन साह नै भए जहिले पनि । जहाँ पनि जान्ने सुन्ने टोपलिन पर्नेले भन्न थालिहाले–त्यसै कहाँ जित्थ्यो ? त्यो राजाको मान्छे रहेछ । भारतीय दूतावासले चलाएको रहेछ । अमेरिकी र युरोपेलीले उचालेका रहेछन् । माओवादीमा जाने कन्फर्म भइसक्यो । शेयर बजारले पो उठाएको रहेछ ।’
पत्रकार भट्टराईले आफ्नो फेसबुकमा लेखेको स्टाटसमा मधेसको कुरा कहीँ गरिएको छैन । पत्रकार भट्टराईमात्र होइन, काठमाडौंका मधेसीबाहेक अरु कोही पनि बालेन साहलाई मधेसी स्वीकार गर्न तयार छैनन् । कसैले पनि बालेन साह मधेसी भएकै कारण चुनाव जितेका हुन् भनेको कतै सुनिएको छैन ।
मधेसमा भने एक तप्काले काठमाडौं महानगरपालिकाको प्रमुखमा एकजना मधेसीले जित्यो भने खुसी मनाउन थालेको देखिन्छ । बालेनले थरमा ‘शाह’ लेखिएका कारण कतिपयले उनलाई राजपरिवारसँग जोडेर हेरे भने कतिपयले उच्च जाती ठकुरीसँग जोडेर हेरे । उनी मधेसी हुन् भनेर सुरुमा कसैले सुइँकोसम्म पाएनन् । जब उम्मेदवारी दिए अनि उनको बारेमा सोधखोज हुन थाल्यो, त्यसपछि मात्र उनी मधेसी हुन् भन्ने सबैले थाहा पाए ।
बालेन साह अर्थात् बालेन्द्र स्वयंले पनि आफूलाई मधेसी भन्दैनन् । मिडियामा पनि उनले आफूलाई मधेसी भन्न रुचाएका छैनन् । न त उनका परिवारले मधेसी भनेर आफ्नो परिचय गराउन चाहेका छन् ।
बालेनका काका ईन्जिनियर सत्यनारायण साह भन्छन्, ‘बालेन साहको चुनावमा परिवारको कुनै भूमिका छैन, बालेनले सबैथोक आफै गरिरहेका छन्, उनको चुनाव प्रचार होस् या अहिले विजय उत्सव होस्, त्यसमा परिवारको कुनै संलग्नता छैन ।’
