जनकपुर, जेठ १४
०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणामबाट आन्दोलनबाट उदाएका दलहरुको अवस्था विगत भन्दा यसपटक निकै कमजोर देखिएका छन् ।
मओवादी जनयूद्ध तथा मधेश आन्दोलनबाट उदाएका दलहरुले स्थानीय तहको निर्वाचनमा मधेशवादी दल र नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा कमजोर देखिएका हुन् ।
मधेशवादी दलका रुपमा स्थापित रहेका जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनयूद्धबाट स्थापित भएका माओवादी केन्द्रले अपेक्षाकृत रुपमा जित हासिल गर्न सकेनन् ।
त्यस्तै मधेशवादी दलको विकल्पको रुपमा रहेको भन्दै आएका सिके राउत नेतृत्वको जनमत पार्टीले पनि लक्ष्य लिए अनुसार जित्न सकेनन् ।
जसकारणले यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले नै मजबुत दलको रुपमा स्थापित भएको छ ।
मधेश प्रदेशमा १३६ पालिका मध्ये काँग्रेसले ४५ वटा पालिकाका प्रमुखमा निर्वाचित भएका छन् । भने २९ वटा पालिका प्रमुखमा एमाले निर्वाचित छन् ।
०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसले ४२ र एमालेले १८ वटा पालिका जितेको थियो । भने उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन समाजवादी पार्टीले २६ पालिका जितेको थियो । तर यस पटक भने यादवको नेतृत्वमा रहेको जसपा नेपालले भने २५ वटा पालिकामा जितेका छन् ।
सबै भन्दा कमजोर लोसपा र माओवादी केन्द्र नै मधेश प्रदेशमा देखिएको छ । माओवादीले गत निर्वाचनमा २१ पालिका जितेको थियो भने यस निर्वाचनमा प्रदेश भरमै ९ वटा पालिका मात्रै जित्न सफल भएको छ ।
त्यस्तै लोसपाले १४ वटा पालिका जितेको छ जबकी ०७४ को स्थानीय तहको निर्वाचनमा २५ वटा पालिका जित्न सफल भएको थियो ।
विभिन्न आन्दोलनबाट उदाएका दलहरुले आफुलाई पारम्परिक दलकै रुपमा आफुलाई चिनाउँदै गएपछि यस्तो परिणाम आएको विश्लेषक रोशन जनकपुरीको भनाई छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सचिव रामविनोद चौधरी स्थानीय तहको निर्वाचनमा आएको परिणाम र भएको क्षतीको बारेमा समिक्षा गर्न बाँकी रहेको बताउँछन् ।
उनले लोसपा केन्द्रिय समितिले पनि टिकट वितरण देखि उम्मेदवार छनोटसम्ममा चुक भएको स्वीकार छन् ।
उनले यस पटकको निर्वाचनमा विगत भन्दा बढी पालिका लोसपाले नजितेपनि मत भने बढी आएको दावी गरेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवले मधेश प्रदेशमा विगत भन्दा कम पालिका आएपनि मत संख्या बढि रहेको बताए । उनले गठबन्धन गरेपछि बढी सिट जित्ने अपेक्षा रहेपनि गठबन्धनले मधेश प्रदेशमा फाईदा नभएको बताए । उनले गठबन्धनको नाममा काँग्रेसले मत लिएपनि जसपाका उम्मेदवारलाई भने काँग्रेसले मत नदिएको आरोप लगाए ।
तर राजनीतिक विश्लेषक रोशन जनकपुरीले आन्दोलनबाट उदाएका दलहरुले एजेण्डा छाडेको र विभाजित भएकाले यस्तो परिस्थिती आएको बताए ।
त्यस्तै मधेशवादी दलहरु भन्दा पनि माओवादीको अवस्था भिन्न नरहेको भन्दै माओवादीले एजेण्डा र विचार छाड्दै गए माओवादी पार्टी फुट्दै गए र झनै अव्यवस्थित र गुटबन्दीमै रुम्मलिएपछि मधेशी दल जस्तै माओवादीको अवस्था पनि कमजोर भएको विश्लेषक रोशन जनकपुरीले टिप्पणी गरे ।
मुलुकको व्यवस्था परिवर्तनका निम्ति आन्दोलनबाट स्थापित भएका दलहरुले पनि परम्पारिक दलहरु झैँ विचार, व्यवहार परिवर्तन गर्दै गएपछि मधेशवादी दल र माओवादी दलको विकल्पमा पुरानै दललाई जनताले यस पटकको स्थानीय तहको निर्वाचनमा चुनेका छन् ।
जसले गर्दा आन्दोलनबाट स्थापित भएका दललाई एकीकृत भएर जनहीतमा काम गर्नुपर्ने आवश्यकता रहेको छ ।
