मधेस प्रदेश, जेठ १८
जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले मधेस प्रदेशका लागि खास योजना नछुट्टाइएको भन्दै यसलाई पुनर्विचार गर्न माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि समेत जनाएका छन्।
सांसद यादवले मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको भन्दै त्यसमा पुनर्विचार गर्न माग गरेका छन्।
उनले हुलाकी मार्गको धेरै पुल र सडकहरू बनाउन बाँकी नै रहेको समेत बताए।
उनले मधेस प्रदेशलाई दिइने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोप लगाए।
