जनकपुर, जेठ ३१

तत्कालिन जनकपुर अञ्चल अस्पताललाई मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल र प्रादेशिक अस्पतालबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम परिवर्तन गरेपछि अहिले प्रादेशिक अस्पतालको मातहतमा रहेका संघीय सरकारका कर्मचारी र करारका कर्मचारीहरुलाई तलबबाट वञ्चित गरिएको छ ।

लामो समय देखि तलब नपाएको भन्दै मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई कर्मचारीहरुको एक समुहले ज्ञापनपत्र बुझाउँदै तत्काल तलब भत्तासहित विभिन्न सेवासुविधाहरु उपलब्ध गराउन माग गरेका छन् ।

अस्पताल विकास समिति कर्मचारी युनियन प्रादेशिक अस्पताल इकाई समितिका अध्यक्ष मोहम्मद सफी अहमद अंसारी (लालबाबु ) ले मुख्यमन्त्री राउतलाई ६ बुँदे ज्ञपान पत्र बुझाउँदै तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

विगत २०\२५ वर्षदेखि कर्मचारीहरू कार्यरत रहेका प्रादेशिक अस्पताल र प्रतिष्ठान उनीहरुको सवालमा मौन रहेको भन्दै कर्मचारीहरूको वृती विकासमा बाधा अवरोध नहोस् भनेर स्थायित्व तर्फ अगाडी बढाउन हामीले ध्यानाकर्षण गराएको अध्यक्ष अन्सारीले बताए ।

उनले प्रादेशिक अस्पतालको नाम परिवर्तन गरेर गरिएका विभिन्न कामहरुमा भने खासै भिन्नता नभएको उनको भनाई छ ।

उनीहरुले नेपाल सरकारद्वारा प्राप्त ९० प्रकारको निःशुल्क औषधीहरू सर्वसाधारणहरूलाई चौबिसै घण्टा सर्वसुलभ तरिकाबाट अस्पताल फार्मेसीबाट निःशुल्क रूपमा वितरण हुनुपर्ने, विकास समिति तर्फ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग, प्रशासन लगायत अन्य कर्मचारीहरूलाई मापदण्ड बनाई सो अनुसार आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नुपर्ने, हाल विकास समितिको कर्मचारीहरू स्वतः उमेर हदको कारणले अवकाश हुँदा विरामी विदा, घर विदा लगायतका सेवा अवधि जोडेर गोल्डेन हेण्डसेक सहितका सेवा सुविधा उपलब्ध गराउनु पर्ने, समितिका कर्मचारीहरूलाई नेपाल सरकारको नियमानुसार अविलम्व सामाजिक सेवा सुरक्षामा आवद्ध गर्नुपर्ने, कोभिड १९ बाकी भत्ता तुरून्त उपलब्ध गराउनु पर्ने, र समितिको आय व्यय मासिक रूपमा सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन् ।

सो ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले हामी प्रक्रियागत अनुसार तपाईहरुको माग सम्बोधन गर्ने बताए ।

यता मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त भ्वाईस काउन्सलर डा. अंकुर साहले अस्पताल चैतमा हाम्रो मातहतमा आएकोले समायोजन हुन अझैपनि बाकी रहेकाले यसका लागि हामीले आन्तरिक कार्यहरु अघि बढाउने बताउँदै उनले सगोलरुपमै एकै पटक समायोजन भएमा सबै समस्या हल हुने बताए ।