जनकपुर, जेठ ३१

हिन्दु धर्मावलम्बीहरुको पवित्रस्थल जानकी मन्दिरमा मधेश प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमलसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरुपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका विभिन्न भागमा तोडफोड गरी पुरातात्विक स्वरुप नै बिगारेको छ ।’
मुख्यमन्त्री स्वच्छता कार्यक्रमको नाममा गरिएको जानकी मन्दिर परिसर तथा मन्दिर भित्रको टाइल्स, मार्बल, गेट निर्माण तथा मरम्मतसम्भार सहितका भएको सौन्दर्यकरण र मधेश प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत बृहत्तर क्षेत्र विकास परिषदद्वारा गरिएको लाईट जडानमा समेत भ्रष्टाचार भएको महन्त दासले दावी गरे ।

महन्त दासले भने, ‘ जानकी मन्दिरको सौन्दर्यकरण निर्माणका लागि ७ करोड २० लाख रुपैयाँको लागतमा टाइल्स मार्बल जडान कार्य पुरा नहुँदै फुट्न थालेको छ भने गेट समेत अहिलेसम्म निर्माण योजना अनुरुपको गरेनन्, त्यस्तै प्रदेश सरकारको ११ करोड रुपैयाँको बजेटमा गत वर्ष बृहतरले गरेको लाईट जडान महिनौसम्म सञ्चालन नै भएन, पछि सञ्चालन भएपनि करिब डेढ महिनामै बिग्रिएको छ ।’

उनले कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएको कारण टाइल्स मार्बल फुट्न थालेको र लाईट बिग्रेर थन्केको बताए । उनले मन्दिरको सौन्दर्यकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेका हुन् भने लाइटिङ्गको काममा बृहतर र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीले भ्रष्टाचार गरेको दावी गरे ।

No description available.

उनले मधेश प्रदेश सरकारले भ्रष्टाचार गर्न जानकी मन्दिरलाई माध्यम बनाएको समेत आारोप लगाए ।

उनले मधेश प्रदेश सरकारले मन्दिरमा कुनै पनि किसिमको काम गर्दा स्वीकृत नलिई जथाभावी काम गरेको आरोप समेत लगाए । उनले भने, ‘हामीसँग सोधपुछ वा छलफल नै गर्दैनन, मनपरी रुपमा सौन्दर्यकरणको नाममा मन्दिरका पुरातत्वमा असर पर्ने गरी तोडफोड गर्यो । हामीले विरोध गर्दा पनि कुनै पहल हुन नसकेपछि पत्रकार सम्मेलन गर्नु परेको हो ।’

उनले यसअघि संघीय सरकारबाट मन्दिरको कुनै पनि काम हुँदा हामीसँग स्वीकृति लिएर गरिने गरिएको स्मरण गरे ।

उनले मधेश प्रदेश सरकारले सौन्दर्यकरणको नाममा जानकी मन्दिरको तोडफोड गरी मन्दिरको पुरातात्विक स्वरुपलाई विगारेको र आस्थासँग खेलवाड गरेको आरोप समेत लगाए ।