जनकपुर, असार ५
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि हुलहज्जतसहित दुव्र्यवहार गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाईमा ज्ञापनपत्र बुझाउन आएको सो समूहले उपमेयर किशोरी साहमाथि मुक्का प्रहार सहित दुव्र्यवहार गरिएको हो ।
स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेको भन्दै सोको अतिक्रमण रोक्न माग गर्दै आज दिउँसो जनकपरधाम उपमहानगरका मेयर मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
मेयर कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेर उपप्रमुख किशोरी साहले कार्यालयको प्रांगणमा स्थानीयवासीलाई आश्वासन दिने क्रममा उनीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेको थियो ।
उपमेयर किशोरी साहले एक्लैले अतिक्रमण हटाउन समस्या उत्पन्न हुने भएकाले यसका लागि सबैसंग सहयोग लिई जग्गा अतिक्रमण गरि बनाइएको घर टहराहरु हटाइने बताए । उनले आफु घर बसाउन आएको भनेपछि एकाएक प्रदर्शनकारीहरुले हुटिंग गर्दै हुलहुज्जत तथा धकामुक्का समेत प्रहार गरेका थिए ।
उपमेयर साहलाई दुव्र्यवहारसहित आक्रमण हुन थालेपछि नगर प्रहरी र धनुषा प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्ष भित्र लगेका थिए ।
