जनकपुर, असार ६

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महतोले मधेशी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोनल जारी रहने बताएका छन् ।

सोमबार जनकपुरधाममा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले दलीय गठबन्धन नभएमा मुलुकमा स्वेच्छाचारिताको अन्त्यका लागि अनिवार्य आवश्यकता अनुसार लोकतन्त्रको रक्षाका लागि भएको बताए ।

उनले नागरिकताको लागि लडाई, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायमका लागि, संघीयतालाई मजबुत बनाउनका लागि लडाई जारी नै रहेको बताए ।
उनले कतिपय पार्टीहरु संघीयतालाई कार्यान्वयन गर्न नै नचाहेको र नागरिकता समेत दिनबाट आनाकानी गरिरहेकाले संघर्ष जारी नै रहेको बताए ।
उनले संघीयता, लोकतन्त्र र समावेशीताको विरुद्ध षड्यन्त्र भईरहेकाले गठबन्धनको आवश्यकता रहेको दावी गरे ।

उनले अहिलेको संघीयता नाम मात्रको रहेकाले राज्यको हरेक निकायमा जनताको पहुँच हुनु नै जनताको राज हुने र त्यही नै संघीयतासहितको जनताले अधिकार प्राप्त गर्ने बताए ।

उनले अधिकार प्राप्तिका लागि अझैपनि आन्दोलन र संघर्ष आवश्यक रहेको बताए ।

राजनीतिक आन्दोलन र सामाजिक आन्दोलन तथा सामाजिक परिवर्तनका लागि लोकतन्त्रलाई आत्मसात गर्दै प्राप्त अधिकारको रक्षा र संस्थागत विकासका लागि चुनाव पनि संघर्ष र आन्दोलनको पाटो रहेको उनको भनाई छ ।

चुनावको माध्यमले विकास, आर्थिक समृद्धि राजनीतिक अधिकार प्राप्तिसंगै शक्तिका लागि पनि आवश्यक रहेको उनले बताए ।
विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास र समृद्धि नहुने उनको भनाई छ ।

पार्टी प्रवेश गर्दै महतोले आजदेखि आफु जसपाको हनुमान बनेर पार्टीका लागि काम गर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका निर्माण व्यवसायी बलराम महतोलाई अध्यक्ष यादवले आफ्नो हातबाट टिकोटालोसहित साधारण सदस्यता लिई पार्टी प्रवेश गरेका थिए ।

आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा खडा भएका महतो जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा पराजित भएपछि जसपा नेपालको सदस्यता ग्रहण गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका महतो नेकपा माओवादी केन्द्र परित्याग गरेका थिए ।

यस पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतको उपस्थिती रहेको थियो ।