विराटनगर, असार १५
मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ ।
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।
त्यस्तै मोरंगको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए ।
त्यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजो भन्दा बढेको छ । हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी नाम गरिएको थियो । अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईले दिएको जानकारी अनुसार प्रदेश १ को उदयपुरको चौदण्डीगढी, धनकुटाको केही भित्री सडक तथा सुनसरीको वराहक्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । अहिलेसम्म प्रदेशमा ५ सय घर परिवार विस्थापित भएको र पुनःस्थापित गराउने पहल भइरहेको उनले बताए ।
त्यस्तै विपद्को जोखिम क्षेत्रका वस्तीलाई स्थानान्तरण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा नयाँ वस्ती पनि निर्माण गरिने उनले बताए । ‘यो पटक हामीले नयाँ ढंगले गर्न कोशिष गरेका छौं, विपद् व्यवस्थापनका लागि आवश्यक कोष निर्माण गरेका छौं, सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ,’ कार्कीले भने, ‘त्रिपाल र खाद्यान्नलगायतका अति आवश्यक सामाग्रीको जोहो गर्न खाद्य संस्थान र साल्ड टेडिङलगायतलाई निर्देशन गरिएको छ ।’
बाढीका कारण विस्थापित भएका मोरंगका पीडितलाई हिजो पनि त्रिपाललगायत राहत सामाग्री वितरण गरिएको छ । यसअघि ताप्लेजुङमा गएको पहिरोमा परेकाहरुलाई तुरुन्तै उद्धार र राहतको व्यवस्थापन गरिएको छ ।